एक सातामै भीमफेदीमा अर्को दुर्घटना: जिप खस्दा ३ जनाको मृत्यु

३ मंसिर २०८३, बिहीबार १०:१३

काठमाडौँ ।  मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खस्दा दुर्घटना भएको हो ।

बिहान करिब साढे ८ बजे भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा अस्पतालका चिकित्सकले दुई महिला र एक पुरुष गरी तीन जनालाई मृत घोषणा गरेका हुन् । मृतकको पहिचान खुल्न बाँकी रहेको छ । घाइते सातै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ ।

यसअघि गत २६ कात्तिकमा पनि भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । काठमाडौंबाट सर्लाही जाँदै गरेको उक्त माइक्रोबस सडकबाट करिब सात सय मिटर तल खसेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*