राष्ट्रपतिलाई साक्षी राखेर ७ दलका नेता सामू प्रम ओलीद्वारा पुनः संसद विघटन गर्ने चेतावनी

३ चैत्र २०७७, मंगलवार २१:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर पुनः संसद विघटन गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठकमा उपस्थित नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपा लगायतका आधा दर्जन बढि पार्टीका शीर्षस्थ नेताको सामू बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद विघटन गर्ने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले संसद र सरकार दुवैलाई चल्न नदिएकोले पुनः संसद विघटन भए आश्चर्य मान्नुनपर्ने बताएको बैठकमा सहभागी नेताहरुलाई उध्रित गर्दै प्राप्त समाचारमा जनाइएको छ । समाचार स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले पुनः संसद विघटन गरेर नयाँ निर्वाचनमा जानुको विकल्प नभएको भन्दै नेताहरुलाई चेतावनी दिएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीकै सामुन्ने पुनः संसद विघटन गरेर निर्वाचनको मिति घोषणा गर्ने चेतावनी दिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफूले मन्तव्य नराख्ने भन्दै पन्छिएको जनाइएको छ । प्रधानमन्त्री ओलीले संसद चल्नै नदिएको, सरकारलाई समेत काम गर्न नदिइएको भन्दै संसद विघटन गर्ने चेतावनी दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले भने आफ्नो काम मन्त्रिपरिषदले गरेको सिफारिस कार्यान्वयन गर्ने हुने भन्दै केही गर्न नसक्ने बताएको बैठकमा सहभागी नेमकिपाका नेता प्रेम सुवाललाई उध्रित गर्दै प्राप्त समाचारमा जनाइएको छ ।

राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, एमालेका महासचिव ईश्वर पोखरेल, नेपाली कांग्रेसका सभापति शेर बहादुृर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ, नेमकिपाका नेता प्रेम सुवाल, जसपाका नेताहरु महन्त ठाकुर, उपेन्द्र यादव, राजेन्द्र्र महतो, राप्रपाका प्रकाशचन्द्र लोहनी लगायतका नेताहरु सहभागी थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*