लोकप्रिय हुँदै शिखर इन्स्योरेन्सको अटो प्लस बीमा पोलिसी

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले नेपाली बीमा क्षेत्रमा पहिलो पटक शुभारम्भ गरेको सवारी साधनको अतिरिक्त बीमा सुविधा भएको बीमा पोलिसी निकै लोकप्रिय हुँदै गएको कम्पनीले जनाएको छ । ‘मोटर बीमा निर्देशिका २०७३’ मा समावेश नभएका सुविधा र पूर्ण राहात दिने शिखर इन्स्योरेन्सको ‘अटो प्लस बीमा’ नेपाली बीमा बजारकै नयाँ पोलिसि भएकोले दिनानु दिन लोकप्रिय बन्दै गइरहेको कम्पनीले जनाएको छ ।
शिखर इन्स्योरेन्स कम्पनीले मंसिर महिनाबाट शुरु गरेको सवारी साधन अतिरिक्त लाभ बीमालेख अन्तर्गतको ‘अटो प्लस बीमा’ पोलिसीले सवारी दुर्घटनाका बेला सवारी धनीले व्यहार्नुपर्ने सवारी साधनको अतिरिक्त मर्मत शुल्क, बीमा सेवाले कभर नगर्ने टायर, प्लाष्टिकका सामान तथा ह्रासकट्टी बापतको शुल्क तथा सवारी साधन नहुँदा सवारी धनीले दैनिक रुपमा सवारी साधन खर्च (ट्याक्सी खर्च) समेतको भुक्तानी पाउने भएकोले लोकप्रिय हुँदै गएको हो ।
‘मोटर बीमा निर्देशिका २०७३’ अनुसार मोटर बीमा पोलिसीले क्षतिको समयमा सवारीधनीलाई पूर्ण राहात दिन नसक्ने, सवारी साधनको क्षति वा चोरी हुँदा बीमाङ्क रकमसम्मको मात्र दाबी पाइने, क्षतिको मूल्याङ्कनमा ह्रासकट्टीबापत रकम काट्ने, गाडी पूर्ण क्षति भएको र अर्को नयाँ सवारी साधन खरिद गर्नु परेमा बीमित आफैंले रकम थप्नुपर्ने र उक्त गाडी मर्मत नहुञ्जेल वा नयाँ खरिद नगरुञ्जेलसम्म बीमित आफैंले यातायात खर्च ब्यहोर्नुपर्ने जस्ता समस्याहरु सवारी धनीले भोग्दै आएका थिए । दुई पाङ्ग्रे मोटरसाइकल र स्कुटर तथा चार पाङ्ग्रे निजि कार, जिप भ्यानलाई लक्षित गरिएको बीमा पोलिसीप्रति आकर्षण बढ्दै गइरहेको छ ।
नेपालमा दर्ता भएको मितिबाट १० वर्षभन्दा कम उमेरका सवारी साधनका लागि मात्र ‘अटो प्लस बीमा’ पोलिसी खरीद गर्न सकिने शिखर इन्स्योरेन्स कम्पनीले जनाएको छ । यस्तै, अटो प्लस बीमा गर्दा सवारी साधन पुनस्र्थापना अन्तर्गत सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपल्ब्ध गराउँछ ।
अटो प्लस बीमा पोलिसी अनुसार बीमा गरिएको सवारी साधन पूर्ण क्षति वा चोरी भएको छ भने अधिकतम ३० दिनसम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिन सम्मको यातायात भाडा खर्च समेत कम्पनीले बीमा दावी भुक्तानीबापत भुक्तानी गर्नेछ ।













