बैंकहरुको सीडी रेसियोमा सुधार, एकैदिन थपियो ६ अर्ब रुपैयाँ निक्षेप

काठमाडौं । बैंकहरुमा एकैदिन ६ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ २५ र २६ गतेसम्म तथ्याङ्कअनुसार बैंकहरुको निक्षेप एकैदिन ६ अर्ब रुपैयाँ बढ्न पुगेको हो ।
राष्ट्र बैंकका अुनसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप भदौ २५ गते ५० खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा एकैदिन ६ अर्ब निक्षेप थपिएर भदौ २६ गतेसम्म ५० खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । जसमा वाणिज्य बैंकहरुको मात्रै निक्षेप ४४ खर्ब ४८ अर्ब रुपैयाँ रहेको छ ।
निक्षेप बढेसँगै बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)मा समेत सुधार देखिएको छ । भदौ २५ गतेसम्म ८८.२३ प्रतिशत रहेको सीडी रेसियो भदौ २६ गतेसम्म घटेर ८८.१३ प्रतिशतमा कायम हुन पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा बैंकहरुको सीडी रेसियो ९० प्रतिशत पुगेको थियो । केही बैंकहरुको सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा नाघेको थियो । अधिकांश बैंकहरु कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगिसकेका थिए । तर दोस्रो महिना लागेसँगै बैंकहरुको सीडी रेसियोमा केही सुधार देखिन थालेको छ ।
यसैबीच भदौ २६ गतेसम्म बैंकहरुले कुल ४१ खर्ब ८० अर्ब कर्जा प्रवाह गरेका छन् । यता बैंकहरुको कर्जा लगानी भने राष्ट्र बैंकको तथ्याङ्कअनुसार एक अर्ब खुम्चिन पुगेको छ । भदौ २५ गतेसम्म बैंकहरुले ४१ खर्ब ८१ अर्ब कर्जा परिचालन गरेका थिए ।














