शोधानान्तर स्थिति २२ अर्ब रुपैयाँ घाटामा, चालु खाता कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार शोधानान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँ घाटामा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा रहेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्षमा शोधानान्तर स्थितिको घाटामा कमी आएको हो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधानान्तर स्थिति समिक्षा अवधिमा १७ करोड ७७ लाखले घाटामा रहेको छ ।
त्यस्तै, चालु खाता समेत १६ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको यसै अवधिसम्म चालु खाता ४७ अर्ब २९ करोडले घाटामा रहेको थियो । साथै यस अवधिसम्म पुँजीगत ट्रान्सफर १७.७ प्रतिशत बृद्धि भई ८० करोड ३ लाख रुपैयाँ कायम भएको छ । साथै वैदेशिक लगानी एक अर्ब ७५ करोडले ऋणात्मक रहेको छ भने पुँजीगत ट्रान्सफर ६७ करोड ९७ लाख रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ करोड ६ लाख रुपैयाँ रहेको थियो ।













