महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय दोब्बर, नाफा ८६%ले बढ्दा जीवन बीमा कोष १७१% ले बृद्धि

३० बैशाख २०७८, बिहीबार १३:११

काठमाडौं । सबैभन्दा पछि बीमा व्यवसाय सुरु गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय दोब्बर बृद्धि भएको आज प्रकाशित तेत्र्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी ९९.५१ प्रतिशतले बृद्धि भई ७८ करोड ४२ लाख ६१ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो आवमा जम्मा ३९ करोडको व्यवसाय गरेको कम्पनीले चालु आवको नौ महिने समीक्षा अवधीमा दोब्बर बृद्धि गर्न सफल भएको हो ।

कम्पनीको लगानी, कर्जा तथा अन्य आयबाट हुने आम्दानी समेत बृद्धि भएको छ । गत वर्ष १२ करोड ६० लाख २३ हजार रुपैयाँ रहेको यस्तो आम्दानी चालु आवमा १५ करोड ४४ लाख आठ हजार ६९७ रुपैयाँ पुगेको छ ।


कम्पनीको व्यवस्थापन खर्चमा सामान्य बृद्धि भएको छ । गत वर्ष १४ करोड ३१ लाख ६६ हजार रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको नौ महिनामा १६ करोड ७४ लाख १६ हजार ६६ रुपैयाँ खर्च गरेको छ । कम्पनीले अभिकर्तालाई वितरण गर्ने कमिशनमा १४७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा छ करोड २३ लाख रुपैयाँ वितरण गरेको कम्पनीले यस आवको समीक्षा अवधीमा १५ करोड ३९ लाख ९० हजार ७०८ रुपैयाँ वितरण गरेको छ ।

एक अर्ब ४० करोड चुक्ता पुँजि भएको कम्पनीको खुद नाफा बृद्धि भएको छ । अघिल्लो आवमा जम्मा तीन करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवमा छ करोड ६८ लाख दुई हजार ८३४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

कम्पनीले हालसम्म आईपिओ जारी गरेको छैन । कम्पनीले आगामी आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गरेपछि मात्रै आईपिओको लागि योग्य हुने हुँदा अझै डेढ वर्षभन्दा बढि समय लाग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*