मर्जरले शेयर रोक्का भएका कम्पनीको कारोबार किन भएन फुकुवा ?

२७ कार्तिक २०७९, आईतवार १३:१६

काठमाडौं । मर्जरमा गएका कम्पनीहरुको शेयर कारोबार यो साता फुकुवा हुने भएपनि कम्पनीहरुले निवेदन नदिएसम्म खुल्ला नहुने भएको छ । बोर्डको निर्देशिका अनुसार मर्जरमा गएका कम्पनीहरुको शेयर कारोबार फुकुवा हुनेभएपनि कम्पनीहरुले फुकुवाको लागि निवेदन नदिएसम्म दोस्रो बजारमा रोकिएको शेयर कारोबार नहुने नेप्सेका प्रवत्ता मुराहरी पराजुलीले बताए ।

आज बीमापोष्टले यो सामाचार तयार पार्दासम्म दोस्रो बजारमा मर्जरको कारण शेयर कारोबार रोक्का भएका कम्पनीहरुले शेयर फुकुवाको लागि आवेदन नदिएको उनले जानकारी दिए ।जसको कारण बोर्डको निर्देशन जारी भएपनि शेयर कारोबार रोक्का नभएका कमपनीहरुले खोल्ने आवेदन नदिएसम्म मर्जरमा गएका कुनै पनि कम्पनी शेयर कारोबार आज आइतबार सुचारु नहुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले “धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” जारी गरेर तत्काल कारोबार सुचारु गर्ने ब्यबस्था गरेपनि आज आइतबार भने ति कम्पनीको कारोबार नहुने भएको हो ।

कार्तिक २४ गतेदेखि नै लागु भएको निर्देशिका अनुसार अब सुचिकृत कम्पनीहरु मर्जमा हुँदा बढीमा १५ दिन मात्र शेयर कारोबार रोक्का गर्न पाइने छ । त्यस्तै यस अघि नै मर्जरका कारण शेयर कारोबार रोक्का भएका कम्पनीहरुको शेयर कारोबार तत्काल सुचारु गर्नु पर्ने ब्यबस्था निर्देशिकाले गरेको छ ।

कारोबार फुकुवाको कम्पनीले आधारभूत शेयरधनी र साधारण शेयरधनीको सूची छुट्याएर नेप्से र सिडीएसमा आवेदन दिनु पर्ने ब्यबस्था छ ।आधारभुत शेयरधनीको शेयर फ्रिज गरेपछि मात्र साधारण शेयरधनीको कारोबार फुकुवा हुने छ । आधारभूत शेयरधनीको शेयर भने रोक्का नै रहिरहने छ ।

धितोपत्र बोर्डले जारी गरेको निर्देशिका अनुसार निर्देशिका प्रारम्भ हुनु अघि गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा रहेका कारण शेयर कारोवार रोक्का रहेका संगठित संस्थाको आधारभूत शेयरधनी बाहेक अन्य शेयरधनीको शेयर कारोवार फुकुवा गर्नुपर्नेछ। आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोवार फुकुवा गर्न संगठित संस्थाले आधारभूत शेयरधनीको विवरण सहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ। निवेदनको आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत शेयरधनी बाहेकको शेयर कारोवार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ ।

यसअघिको व्यवस्था कार्यान्वयन भएको कारण अब उप्रान्त मर्जरमा गएका कम्पनीहरुले १५ दिन भन्दा बढी शेयर कारोबार रोक्का गर्न नपाउने प्रावधान रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*