हिमालयन डिष्टिलरीको खुद नाफा २१ करोडमाथि, इपिएस कति ?

२९ कार्तिक २०७९, मंगलवार १०:२३

काठमाडौं । हिमालयन डिष्लिटरी लिमिटेडले चालु आर्थिक वर्षको तीन महिनामा २१ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तुलनामा सामान्य बढ्न पुगेको छ ।

यो नाफा गत आवको तुलनामा २.१२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २१ करोड १२ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा बिक्री बढेपनि गत वर्षकोभन्दा चालु वर्षको बिक्री लागतका साथै प्रशासनिक तथा वित्तीय खर्च बढेका कारण खुद नाफा सामान्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १२.२९ प्रतिशत बढेको छ भने कुल नाफा ५.१९ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी ५.९५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.४४ प्रतिशत बढेको छ ।

नाफा सामान्य बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने ४० रुपैयाँ ५६ पैसा घटेर ५६ रुपैयाँ ८४ पैसामा झरेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसकेका कारण कम्पनीको यस्तो आम्दानी घट्न पुगेको हो। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६० गुणा रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७५ प्रतिशत बढेर १ अर्ब ५१ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १४.४८ प्रतिशत बढेर १ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*