२८ सय रुपैयाँमाथि शेयरमूल्य रहेको जीवन विकास लघुवित्तले कति देला लाभांश ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको मु्नाफाबाट आफ्ना शेयरधनीहरुलाई भटाभट लाभांश घोषणा गरिरहेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७७।७८को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ७३ प्रतिशत बम्पर लाभांश वितरण गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने तयारीमा रहेको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र लाभांश घोषणा गरिसक्नुपर्ने व्यवस्था रहेको छ । सो अवधिभित्र लाभांश लाभांश घोषणा नगरेमा बैंक तथा वित्तीय संस्थाहरुले जरिवाना तिर्नुपर्ने प्रावधान रहेको छ । नेप्सेमा सूचीकृत अधिकांश लघुवित्त संस्थाहरुले लाभांश घोषणा गर्न बाँकी छ ।
अबको केही समयभित्रै संस्थाहरुले भटाभट लाभांश घोषणा गर्नेछ । अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई बम्पर लाभांश घोषणा गरेको जीवन विकास लघुवित्तले गत आवको मुनाफाबाट पनि शेयरधनीहरुलाई राम्रै लाभांश वितरण गर्न सक्ने देखिएको छ ।
आव २०७७।७८ को अन्त्यसम्ममा संस्थाले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ मुनाफा आर्जन गर्दा ७० प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ७३ प्रतिशत लाभांश बाँडेको थियो । संस्थाले आव २०७८।७९ मा अघिल्लो आवको भन्दा १३.४० प्रतिशत बढी मुनाफा आर्जन गरेको छ । संस्थाले गत आवमा ७८ करोड १९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफाको आधारमा हेर्दा संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट यस वर्ष शेयरधनीहरुलाई राम्रै लाभांश बाँड्न सक्ने देखिएको छ ।
यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयरमूल्य शुन्य दशमलव ३५ प्रतिशत अर्थात् १० रुपैयाँले घटेको छ । शेयरबजार खुलेको केही समयसम्म लघुवित्तको शेयरमूल्य सामान्य बढेको थियो । नेप्सेमा लघुवित्तको आइपीओ सूचीकृत भएपछि शेयरमूल्य ५ हजार रुपैयाँ भन्दा माथि पुगेको थियो । यतिबेला संस्थाको शेयरमूल्य २८७६ रुपैयाँ रहेको छ ।












