तीन कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि दोस्रो बजारमा कारोबार हुँदै

काठमाडौं । नेप्सेले तीन कम्पनीको शेयर कारोबार फुकवा गरेको छ । नेप्सेले ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको हो ।
यी तीनओटै कम्पनीको आधारभूत शेयरधनीबाहेक अन्यको शेयर कारोबार फुकुवा गरिएको छ । नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यी तीनओटै कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका थिए ।
यी कम्पनीको शेयर भोलि बुधवारदेखि कारोबारमा आउनेछ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै गत असार २ गतेदेखि दुवै कम्पनीको शेयर कारोबार रोक्का भएको थियो ।
यी दुई बैंकका शेयरधनीले साढे ५ महीनापछि कम्पनीको शेयर कारोबार गर्न सक्नेछन् । त्यसैगरी नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिने सम्झौता भएसँगै दुवै कम्पनीको असोज २७ गतेदेखि शेयर कारोबार रोक्का भएको थियो । समीट लघुवित्तको कारोबार भने हालसम्म रोक्का नै रहेको छ ।













