‘ब्याजदर नियन्त्रण गर’ भन्दै नाडा आन्दोलनमा, राष्ट्र बैंक विरुद्ध अटो व्यवसायीको माइतीघरमा धर्ना

काठमाडौं । बैंक विरुद्ध अटो व्यवसायीले आज माइतीघरमा धर्ना दिएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आन्दोलनको पाँचौं दिन आज माइतीघरमा धर्ना दिएका हुन् । सरकारले गत वैशाखदेखि गाडी आयातमा प्रतिबन्ध लगाउँदै आएको फुकुवा भए पनि गाडी बिक्री हुने वातावरण मिलाउन भन्दै उनीहरु आन्दोलनको कार्यक्रमहरुलाई निरन्तरता दिएका हुन् ।
उनीहरु कालो पट्टि बाँधेर सरकार र राष्ट्र बैंक विरुद्ध आन्दोलन गरेका छन् । ब्याजदरमा कटौती, कोभिड–१९ महामारीमा संकटमा परेका व्यवसायीहरुलाई राहतको व्यवस्था लगायतका माग उनीहरुले अघि सारेर आन्दोलित भएका हुन् ।
यसैक्रममा अटो व्यवसायीहरुले यसभन्दा अघि आफ्नो सामाजिक सञ्जालको प्रोफाइल पिक्चर तथा वालमा नाराहरु राखेर अन्दोलन गरेका थिए । त्यस्तै उनीहरुले आफ्नो शोरुम तथा गाडीहरुमा नारा टाँसेर विरोध जनाएका छन् ।












