कुमारी बैंकमार्फत रेमिट आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएकोे छ ।
उक्त खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक शेयर निष्काशनमा आवेदन दिने व्यवस्था मिलाइएको छ ।
श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोली प्राथमिक शेयरमा आवेदन दिन सकिने छ । बैंकले शाखा अथवा अनलाइन माध्यमबाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको छ ।
आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ६० शाखारहित बैंकिङ्ग ईकाई तथा ३६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।












