निफ्राको ५ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि बिक्री खुल्ला

२९ मंसिर २०७९, बिहीबार १२:१३

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आज (मंसिर २९ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५÷८६’ बिक्री गर्न लागेको हो ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ। सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ। निष्काशन बन्द छिटोमा पुस ४ गते हुनेछ भने ढिलोमा पुस १४ गते हुनेछ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*