गुरुप्रसाद र ज्ञानेन्द्रलालले अवैध रुपमा शेयर कारोबार गरेको बोर्डको अध्ययन प्रतिवेदनको पुष्टि, के होला कारवाही ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अवैध रुपमा शेयर कारोबार गरेको भन्दै रिडी पावर र नेपाल हाइड्रोलाई कारवाही गर्ने निर्णय गरेको छ ।बोर्डको संचालक समितिको मंसिर २५ गते बसेको बैठकले रिडी पावर कम्पनीका संचालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा शेयर कारोबार गरेको भन्दै उनीहरुलाई कारबाही गर्ने निणर्य गरेको हो ।न्यौपाने र प्रधान अहिले समितिमा नरहे पनि उनीहरु समिति सदस्य हुदाहुदै शेयर कारोबार भएको बोर्डले जनाएको छ ।
दुवैले कानुन विपरीत शेयर कारोबार गरेको भन्दै बोर्डको विभागीय स्तरबाट हदैसम्मको कारवाही गर्ने सिफारिस भएपछि बोर्डको सञ्चालक समितिले दुवैलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
धितोपत्र ऐनको दफा १०१ को उपदफा ७ बमोजिम २५ हजारदेखि ७५ हजार रुपैयाँसम्म नगद जरिवाना र १० वर्षसम्म सञ्चालक समितिमा बस्न नपाउने नियमन रहेको छ ।प्रधानले कम्पनीको अध्यक्ष पद छाड्नसाथ नियम विपरीत श्रीमती, छोरा र छोरीको नाममा रहेको ६ करोड रुपैयाँभन्दा बढी मूल्यको शेयर बिक्री गरेका थिए ।
रिडी पावरका अध्यक्ष रहँदा न्यौपानेले १९ चैत २०७७ देखि ४ भदौ २०७८ सम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता शेयर किनेर ३९ हजार २२३ कित्ता शेयर बेचेका थिए ।न्यौपानेले र उनको परिवारका सदस्यले उक्त कम्पनीको शेयर दोस्रो बजारमा कानून विपरीत बेचेको भन्दै ६ पुस २०७८मा नै कारबाही सिफारिस प्रतिवेदन बुझाएको थियो ।












