लाभांश र मर्जर प्रस्तावसहित सिभिल बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । सिभिल बैंक लिमिटेडले १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले यहि पुष २८ गते अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी साधारण सभा डाकेको हो ।
सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश पारित गर्नेछ ।
साथै सो सभाले बोनस शेयर जारी पश्चात बैंकको पुँजी बृद्धि हुने भएकोले सोही बमोजिम बैंकको प्रबन्धपत्र संशोधन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । यसका अलावा हिमालयन बैंक लिमिटेडसँग प्राप्ति गर्ने प्रयोजनका लागि डीडीए तथा अनय सम्बन्द्ध व्यवस्था समेतका आधारमा संयुक्त प्राप्ति समितिको सिफारिसमा बैंकको संचालक समितिले स्वीकृत गरे बमोजिम सिभिल बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः८०.२८) कायम गरी प्राप्ति कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह तथा अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
बैंकले साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि यहि पुष १९ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष १८ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।












