राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको लाभांश घोषणा

८ पुष २०७९, शुक्रबार २१:१६

काठमाडौं । सरकारी स्वामित्वमा रहेका दुई बैंकले लाभांश घोषणा गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति बैठकले बैंकको १७ औँ वार्षिक साधारणसभा यही पुस २८ गते गर्ने जनाएको छ भने नेपाल बैंकले पुस २९ गते ६३ औँ वार्षिक साधारणसभा गर्ने भएको छ ।

वाणिज्य बैंकले गत असार मसान्तसम्मको नाफा–नोक्सान, सोही अवधिको नगद प्रवाह तथा शेयरधनी कोष परिवर्तनको विवरणलगायत वित्तीय विवरण पारित गर्ने प्रस्ताव साधारणसभामा लैजाँदैछ । बैंकले २०७९ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशत नगद र पाँच प्रतिशत बोनस शेयर लाभांश दिँदैछ । यो प्रस्ताव पनि अनुमोदनका लागि साधारण सभामा लगिनेछ ।

गत असार मसान्तसम्ममा वाणिज्य बैंकको चुक्ता पुँजी रु १३ अर्ब ९४ करोड तीन लाख ५९ हजार ९९ बराबर रहेको छ । उक्त चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशतका दरले हुन आउने रु एक अर्ब चार करोड ५५ लाख २६ हजार नौ सय बराबर नगद लाभांश वितरण गर्ने स्वीकृति दिने प्रस्ताव साधारण सभामा लगिँदैछ । त्यस्तै, बैंकका सेयरधनीलाई चुक्ता पुँजीको पाँच प्रतिशतले हुने आउने रु ६९ करोड ७० लाख १७ हजार नौ सय ५४ बराबर बोनस सेयर लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पनि साधारणसभामा लगिने बैंकले जनाएको छ ।

वाणिज्य बैंकमा सरकारले सेयर पुँजीका रुपमा लगानी गरेको रु एक अर्ब बैंकको जारी पुँजी र चुक्ता पुँजीमा थप गर्ने प्रस्ताव पनि साधारण सभामा लग्ने जनाइएको छ । बैंकले पुस १८ गते बुक क्लोज ९शेयरधनी दर्ता पुस्तिका बन्द० गरिसक्नेछ ।

त्यस्तै, नेपाल बैंकले पुस २९ गते साधारणसभा गर्दैछ । बैंकको प्रधान कार्यालय धर्मपथमा आयोजना हुने साधारणसभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पेश गरिनेछ । त्यस्तै, बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र दुई प्रतिशत बोनस सेयर दिने प्रस्ताव सञ्चालक समितिमा लगिँदैछ ।

गत असार मसान्तसम्ममा नेपाल बैंकको चुक्ता पुँजी रु १४ अर्ब ४० करोड ५९ लाख चार हजार आठ सय ३१ बराबर थियो । यो चुक्ता पुँजीको दश प्रतिशतका दरले हुन आउने रु एक अर्ब ४४ करोड पाँच लाख ९० हजार चार सय ८३ नगद लाभांश र दुई प्रतिशतका दरले हुन आउने रु २८ करोड ८१ लाख १८ हजार ९६ रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि सञ्चालक समितिमा लगिँदैछ ।

बोनस सेयर वितरणबाट बैंकको साबिक जारी तथा चुक्ता पुँजी वृद्धि गरी रु १४ अर्ब ६९ करोड ४० लाख २२ हजार नौ सय २७ बराबर कायम गर्ने प्रस्ताव पनि बैंकको साधारणसभामा लैजाने तयारी छ । नेपाल बैंकले वार्षिक साधारणसभाका लागि पुस १४ गते बुक क्लोज गरिसक्नेछ । पुस १३ गतेसम्म कारोबार भई शेयर नामसारी भएका शेयरधनीले मात्र साधारणसभामा सहभागी हुन गत आर्थिक वर्षको लाभांश पाउनेछन् ।

दुवै बैंकले चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि आफ्नो लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने विषय बारेको प्रस्ताव पनि साधारणसभामा लैजाँदैछन् । त्यस्तै प्रबन्धपत्र तथा नियमावलीको संशोधन गर्नुपर्ने भएमा सञ्चालक समितिलाई त्यसको अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा लगिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*