सुपरमाई हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर २१ गतेदेखि स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला आईपीओमा आज (पुस १३ गते) बैकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरु (अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका (बरबोटे) ५, सुम्बेक २ र माईजोगमाई गाँउपालिका ५ सोयाँङ्गका स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता र आयोजना प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोवास गर्ने स्थानिय बासिन्दाहरुको लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता शेयर बाँडफाँट गरिनेछ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछ।











