लगानीकर्तालाई आशा भर्दै विदाई भयो २०२२, त्यो कालो इतिहास फेरि नदोहोरियोस्

काठमाडौं । यो बर्ष अंग्रेजी वर्ष सन् २०२२ को शेयर बजार कारोबार भोलि अन्तिम दिन नेप्से सूचक २०२९ को इन्डेक्समा पुगेर क्लोज भएको छ ।गत वर्षको मे र जुन महिनायता देखि घट्न थालेको नेप्से सूचक सेप्टेम्बर महिनामा यस वर्षकै सबैभन्दा तल्लो विन्दु १८१५ को विन्दु्मा कायम भएको थियो ।
गत वर्ष सन् २०२१, डिसेम्वर २९ तारिख अर्थात अन्तिम दिनमा २५२४ विन्दुमा रहेको नेप्से इन्डेक्स सन् २०२२ को कारोबारको अन्तिम दिनसम्म अर्थात् आज नेप्से इन्डेक्स २०२९ को विन्दुमा कायम भएर मार्केट क्लोज हुन पुगेको छ । अनेकौ उतार चढावका बीचमा सन् २०२२ शेयर लगानीकर्ताहरुको लागि कालो वर्षको रुपमा विदा भएको भन्दा अत्युक्ति नहोला ।
२०२२ को सुरुवातमा नै बैकिङ्ग क्षेत्रमा तरलता अभावको सिर्जना भइसकेको थियो । नेपालको आर्थिक अवस्था बिग्रदै गएको थियो । आर्थिक वर्ष २०७८।७९ सुरु भएलगत्तै अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त भएसँगै शेयरबजारमा खासै आशा पलगाउन सकेन । सुरुका केही दिन उच्च अंकले बृद्धि भएपनि उनले अर्थमन्त्रालय सम्हालेको केही महिना पछि नै अवस्था बिग्रदै गएको थियो ।
अंग्रेजी वर्ष २०२२ सुरु भएसँगै बैकिङ्ग क्षेत्रमा तरलता अभाव सिर्जना भइसकेको थियो । यसले सिँगो देशको अर्थतन्त्र समेत धराप पर्न थालिसकेको थियो । बैकिङ्ग क्षेत्रमा तरलताको अभावको समस्या देखिएसँगै शेयरबजार घटेर मे, अप्रिल महिनासम्म नेप्से सूचक २६ सयको विन्दुबाट घटेर २२।२३ सय विन्दुमा कारोबार भए ।
आर्थिक संकटको कारण देखाएर सरकार शेयर लगानीकर्ताहरुलाई निरुत्साहित गरेसँगै देशको आर्थिक अवस्था झन् झन् भयावह बन्दै गएको हो । राष्ट्र बैंकले लागू गरेको नयाँ नीतिका कारण शेयर बजार धरासायी बन्ने पुगेको लगानीकर्ताहरुको आरोप छ ।
यसैका वाबजुत जुलाई ११ तारिखमा नेप्से इन्डेक्स घटेर १९१५ को विन्दुमा झरेको थियो । त्यतिबेला पुर्वअर्थमन्त्री जनार्दन शर्मा बजेट घोषणामा अन्य ब्यक्तिलाई अर्थमन्त्रालय छिराएको आरोपको काण्डमा मुछिएका थिए । आम लगानीकर्ताहरुले जनार्दन शर्माले राजिनामा दिनुपर्ने माग राख्दै विरोध प्रदर्शन समेत गरेका थिए । नभन्दै राजिनामा त दिए तर उनी भ्रष्टाचारी र माफियाको डिजाइनमा फेरि मन्त्रालयमा फर्किए ।
बजेट भाषण तथा नयाँ आर्थिक वर्ष २०८९।८० सुरु भएसँगै मौद्रिक नीतिमा शेयरबजार सुधारका लागि नयाँ नीति आउन सक्ने प्रतिक्षामा रहेका आम लगानीकर्ताहरुले सोचजस्तो मौद्रिक नीति नआउँदा शेयरबजार घटेर १९ सयको विन्दु तल पुगिसकेको थियो । सेप्टेम्बर महिनाको मध्यतिर नेप्से इन्डेक्स घटेर १८ सयको विन्दुमा झरिसकेको थियो ।
मंसिर ४ गते प्रनिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचको समयमा नेप्से इन्डेक्स १९३६ को विन्दुमा रहेको थियो । चुनाव पछि नयाँ सरकार गठन भएसँगै शेयरबजारमा सुधार आउन सक्ने आशामा लगानीकर्ताहर बसेका थिए । निर्वाचन सकिएर नयाँ सरकार समेत गठन भइसकेको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री र एमालेका नेता विष्णु पौडेल अर्थमन्त्रीसहित नयाँ सरकार गठनसँगै शेयरबजारमा सुधार देखिन थालेको छ ।
प्रचण्डको नयाँ सरकार गठन भएसँगै अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको आगमन भयो । पौडेलको आगमनसँगै शेयरबजारमा एकाएक सुधार देखिन थाल्यो । यसअघि पनि पौडेल दुईपटक अर्थमन्त्री बनिसकेका थिए । उनी अर्थमन्त्री रहँदा शेयरबजारमा उत्साह देखिएको थियो । नेप्से इन्डेक्सले आक्रामक उचाईको रुप लिएको थियो । पुष १० गते अर्थात अंगे्रजी वर्ष डिसेम्बर २५ मा अर्थमन्त्रीमा नियुक्त भएका पौडेलको आगमनसँगै निरन्तर घटिरहेको शेयरबजारले एकाएक सुधारको रुप लिएको थियो ।
केही महिनायता खस्किँदै गइरहेको शेयरबजार घट्दै १८ सयभन्दा तलको विन्दुमा पुगेको थियो । नयाँ अर्थमन्त्री पौडेलको आगमनसँगै शेयरबजार उकालो लागेको छ । पछिल्लो चारदिनमा शेयर बजार १५० भन्दा बढि अंकले बढेको छ ।
आम लगानीकर्ताहरुले अंग्रेजी वर्ष २०२२ मा शेयरबजारमा करोडौं पुँजी गुमाएका छन् । यस वर्ष आम लगानीकर्ताहरुकै लागि सबैभन्दा खराब वर्ष रह्यो । अधिकांश लगानीकर्ताहरुले २०२२ मा लाखौं, करोडौं रकम गुमाएका छन् । बैकिङ्ग क्षेत्रमा तरलता अभावसँगै सिँगो राष्ट्रमा अर्थतन्त्र खस्किँदै जानुले शेयरबजारमा लगानीकर्ताहरुले करोडौं रकम गुमाएका छन् ।
साथै २०२२ को कारोबारको अन्तिम दिन शेयरबजारमा हरियाली छाएर २०२२ विदाई भएको छ । अर्थमन्त्री पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै तीनदिन उच्च अंकले शेयरबजार बढ्दा अब नयाँ अंग्रेजी वर्ष २०२३ मा शेयरबजार सुधारिँदै जाने र आम ५३ लाख लगानीकर्ताहरुको हक हितका लागि तथा पुँजीबजार सुधारका लागि आवश्यक नीतिहरु ल्याउने आम लगानीकर्ताहरुमा आशावादी छन् ।
सन् २०२२ को सुरुवातमा लगानीकर्तालाई निराश बनाउँदै सुरु भएको पुँजि बजार २०२२ विदाई हुँदा लगानीकर्ताहरुलाई आशा देखाएर जान सफल भएको छ । सन् २०२२ लाई नेपाली शेयर लगानीकर्ताहरुले कालो इतिहासको रुपमा सम्झिरहनेछन् । त्यसैले यस्तो इतिहास भविष्यमा कहिल्यै नदोहोरियोस् । लगानीकर्तालाई सडकमा पुर्याउने र अनावश्यक रुपमा कृत्तिम मूल्यबृद्धि दुवै शेयर बजारको स्थायित्व र विकासको लागि बाधक छ भन्ने कुरा सबै लगानीकर्ताहरुमा फैलिनु आवश्यक छ । २०२२ को अन्त्यमा पलाएको यो आशा आगामी दिनमा पनि देख्न पाइयोस्, सन् २०२३ लाई स्वागत छ ।












