स्थानीय र वैदेशिक श्रमिकहरुको लागि निष्काशन गरेको कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँड सम्पन्न

२० पुष २०७९, बुधबार १७:०९

काठमाडौं । कालिञ्चोक दर्शन प्रा.लि.ले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि जारी गरेको साधारण शेयर आज (पुस २०) गते बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नक्सालमा आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले स्थानीय बासिन्दालाई जारी गरेको १ लाख २० हजार कित्ता शेयर १२ हजार स्थानीय बासिन्दाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । स्थानीय बासिन्दाबाट १५ हजार ४११ जनाबाट आवेदन परेकोमा २३१ जनाको आवेदन रितपूर्वक नपरेकाले रद्द गरिएको नबिल इन्भेष्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुबाट रितपुर्वक परेको सबै ६ हजार २५९ जना आवेदकलाई १० कित्ताका दरले ६२ हजार ५९० कित्ता आईपीओ बाँडफाँड गरिएको छ । यसरी बाँडफाँड गरेर बाँकी रहेको ४५ हजार ४१० कित्ता शेयर २० कित्तादेखि एक हजार कित्तासम्म आवेदन गर्नेमध्ये गोलाप्रथाबाट ४ हजार ५४१ जना आवेदकलाई थप १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।

यसअनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुमध्ये ४ हजार ५४१ जनालाई २० कित्ताका दरले ९० हजार ८२० कित्ता र १ हजार ७१८ जनालाई १० कित्ताका दरले १७ हजार १८० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले स्थानीय बासिन्दाका लागि जारी पुँजी ६० करोडको २ प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*