२० वाणिज्य बैंकले गरे वित्तीय विवरण सार्वजनिक, नबिल बैंकले कमायो सबैभन्दा धेरै नाफा, मुनाफा बृद्धिदरमा एभरेष्ट बैंक अगाडि

काठमाडौं । २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । सार्वजनिक विवरणअनुसार अधिकांश बैंकहरुको नाफा प्रभावित देखिएको छ ।
हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकमध्ये अधिकांशको नाफा गत आर्थिक वर्षको तुलनामा घट्न पुगेको देखिएको छ । खराब कर्जा बढ्दा बैंकहरुको नाफा घट्न पुगेको प्रकाशित वित्तीय विवरणमा देखिएको छ ।
वित्तीय विवरण सार्वजनिक गर्ने २० बैंकमध्ये नेपाल बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंकको नाफा घटेको देखिएको छ भने कृषि विकास बैंक नोक्सानमा रहेको देखिएको छ । २० वाणिज्य बैंकको नाफा औषतमा ११.८७ प्रतिशतले बढेको देखिएको छ । अझै आधा दर्जन जस्तो वाणिज्य बैंकले वित्तीय विवरण प्रकाशित गर्न बाँकी नै छ ।
कुनले कति नाफा कमायो ?
दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने २० वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने बैंकमा नबिल बैंक रहेको छ । बैंकले पुष मसान्तसम्म ३ अर्ब ४१ करोड नाफा आर्जन गरेको छ । बैंकले नाफा गत आवको तुलनामा ५६.६७ प्रतिशतले बढेको हो ।
त्यस्तै ,नबिललाई पच्छ्याउँदै एनआइसी एशियाले पनि ३ अर्ब २७ करोड नाफा आर्जन गरेको छ । साथै बीओकेलाई प्राप्ति गरेको ग्लोबल आइएमई बैंकले पनि सो अवधिसम्म २ अर्ब ७८ करोड खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ७१ करोड, एनएमबि बैंकको १ अर्ब ९० करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ७५ करोड, प्राइम कमर्सियल बैंकको १ अर्ब ६५ करोड, एभरेष्ट बैंकको १ अर्ब ५८ करोड, सानिमा बैंकको १ अर्ब २८ करोड, प्रभुृ बैंकको १ अर्ब १९ करोड, नेपाल एसबिआई बैंकको १ अर्ब १७ करोड, नेपाल बैंकको १ अर्ब १७ करोड, सिद्धार्थ बैंकको १ अर्ब १६ करोड, लक्ष्मी बैंकको १ अर्ब ७ करोड र माछापुच्छ्रे बैंकको १ अर्ब २ करोड रुपैयाँ नाफा रहेको छ ।
अर्बमुनि नाफा कमाउने ४ वाणिज्य बैंक
२० मध्ये ५ वाणिज्य बैंकको खुद नाफा भने अर्ब तल रहेको छ । जसमा हिमालयन बैंकले ९५ करोड, सिटिजन्स बैंकले ८४ करोड, सनराइज बैंकले ६५ करोड, सिभिल बैंकले ६२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । साथै कृषि विकास बैंक भने यस अवधिसम्म १२ करोड रुपैयाँ नोक्सानमा रहेको छ ।
नाफा बृद्धिदरमा कुन बलियो ?
गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा आर्जनमा सबैभन्दा प्रगति गर्ने बैंकमा एभरेष्ट बैंक रहेको छ । बैंकले यस अवधिसम्म ८५.२५ प्रतिशतले प्रगति गरेको देखिएको छ ।
गत आर्थिक वर्षको पुष मसान्तसम्म १ अर्ब ८ करोड रुपैैयाँ नाफा आर्जन गरेको बैंकले यस अवधिसम्म १ अर्ब ५८ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले यस अवधिसम्म ६१.३६ प्रतिशत प्रगति गरेको छ ।
त्यस्तै, नबिल बैंकले ५६.६७ प्रतिशतले नाफा बढाएको छ भने राष्ट्रिय वाणिज्य बैंकले ५२.८८ प्रतिशत, नेपाल एसबिआइ बैंकले ५०.३५ प्रतिशत, एनआइसी एशिया बैंकले ३६.२७ प्रतिशत, लक्ष्मी बैंकले ३१.७७ प्रतिशत, हिमालयन बैंकले २८.४२ प्रतिशत, सिभिल बैंकले २६.३५ प्रतिशत, सानिमा बैंकले १९.३४ प्रतिशत, एनएमबि बैंकले ११.०८ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.४२ प्रतिशत र माछापुच्छ्रे बैंकले १.४३ प्रतिशत बढीले नाफा बढाएको छ ।

स्रोत : बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा












