मोलुङ्ग हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न हम्यहम्य, आवेदन दिने म्याद पुनः थप

काठमाडौं । मोलुङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद पुनः थप गरिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको उक्त आइपीओमा स्थानीय बासिन्दाले अब माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसअपघि आइपीओमा माघ १० गतेसम्मलाई आवेदन दिने समय थप भएकोमा अहिले पुनः ५ दिन समय थप गरेको कम्पनीले जनाएको छ । मोलुङ हाइड्रोपावरले पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई भने माघ ३ गतेसम्म मात्रै आइपीओमा आवेदन दिने व्यवस्था थियो । यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ७२ हजार ८५० कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १०% अर्थात ८ करोड २ लाख २५ हजार बराबरको सेयर बिक्री खुला गरेको हो । स्थानीयलाई जारी भएको उक्त सेयरमा मागभन्दा कम आवेदन परेकाले समय थप भएको हो । हाइड्रोपवारले १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २ हजार ५ सय कित्ता सेयर स्थानीयलाई निष्कासन गरेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिने सेयरमध्ये ५% ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ । बाँकी ५% सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।
स्थानीय प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ ।












