एचआईडीसीएलले माघ २२ गतेबाट २ करोड भन्दा बढी संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले माघ २२ गते करिब सवा २ करोड कित्ता अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ ।
कम्पनीले संस्थापक समूहको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत भदौ २० देखि असोज ४ गतेसम्म लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको अवितरित हकप्रदमा बिक्री हुन बाँकी रहेको उक्त शेयर पुनः लिलामीमा राख्ने भएको हो ।
यो लिलामी शेयरमा इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतमक १०० कित्तादेखि अधिकतममा सम्पूर्ण शेयर संख्याका लागि खरिद आवेदन दिन सक्नेछन् ।
लिलामीमा राखिएको शेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र काठमाण्डौको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकका शाखाहरु उपत्यकाभित्र संखमूल–नयाँ बानेश्वर र उपत्यकाबाहिर बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगनज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगनज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम दिन फागुन ८ गतेसम्म तोकिएको छ ।
लिलामीमा राखिएको यो शेयर सेयरधनीहरु समूह ‘क’को उपसमूह ‘क–२’अन्तर्गतको ‘अन्य संस्थापक’ उप–समूहमा रहने कम्पनीले जनाएको छ । यो नेप्सेमा एचआईडीसीएलपी संकेतमा कारोबार गर्न योग्य हुने पनि कम्पनीले स्पष्ट पारेको छ ।












