तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१७ माघ २०७९, मंगलवार १०:२४

काठमाडौं । आज (मंगलबार) तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ अरुण भ्याली हाइड्रोपावर, रिडी पावर कम्पनी र तारागाँउ रिजेन्सि होटलले भोली अर्थात माघ १८ गते बुकक्लोज गर्दैछन् ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले माघ २७ गते, शुक्रबार, मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वरमा २५ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीले निर्माण गर्न लागेको १४.५० मेगावाटको बुदुम खोला जलविद्युत आयोजनाको लागि ऋण स्वीकृत गर्ने, कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

त्यस्तै, रिडी पावर कम्पनी  माघ २९ गते, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजे २१ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, सभाले साझा पावर डेभलपमेन्ट प्राईभेट लिमिटेडको सम्पूर्ण शेयर खरिद गर्ने, सञ्चालकको नियुक्ति गर्ने, तल्लो बलेफि खोला (२० मेगावाट) आयोजनाको लागि रिडी पावर कम्पनीको तर्फबाट ऋण जमानी बस्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।

त्यसैगरी, तारागाउँ रिजेन्सी होटल्स लिमिटेड ले फागुन ३ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा २६ औँ वार्षिक साधारण सभा डाकेको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा सञ्चालकहरुको नयुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*