रुरु जलविद्युतको नाफा र इपीएस दुवै घट्यो

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको हो ।
यो नाफा गत आवको यसै अवधिको तुलनामा ९.३१ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म रुरु जलविद्युतले ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी र अन्य आम्दानी घटेसँगै नाफा प्रभावित बन्न पुगेको हो ।
पुष मसान्तसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८.१३ प्रतिशतले घटेर ९ करोड १५ लाख रुपैयाँ कायम भएको छ । साथै नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीसमेत घटेको छ । २९ रुपैयाँ ३१ पैसा रहेको कम्पनीको इपीएस घटेर २४ रुपैयाँ १७ पैसा कायम भएको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ४९ पैसा रहेको छ ।
चुक्तापुँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ घटेर १५ करोड ४ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ११ करोड १७ लाख रुपैयाँ रहेको थियो।












