माया खोला हायड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिनमा झण्डै १४ लाखले दिए आवेदन

काठमाडौं । माया खोला हाइड्रोपावरको आइपीओमा १ अर्ब ५८ करोड ६३ लाख ८१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (माघ १७ गते) सम्ममा १३ लाख ९७ हजार ७२३ जनाले १ करोड ५८ लाख ६३ हजार ८१० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ७.९६ गुणा बढी आवेदन हो । कम्पनीले माघ १३ गतेदेखि ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १० लाख कित्ता शेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यस अघि निष्काशन गरिसकेको छ ।
त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ भने ४८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी रहेको १९ लाख ९२ हजार कित्ता शेयर मात्रै सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो । कम्पनीले निष्काशन गरेको आईपीओमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ












