आधा दर्जन लघुवित्तको वित्तीय विवरण सार्वजनिक, तीन संस्थाको नाफा बढ्दा ३ को घट्यो

काठमाडौं । हालसम्म आधा दर्जन लघुवित्त वित्तीय संस्थाले मात्रै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । फर्स्ट माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त, मिथिला लघुवित्त, आशा लघुवित्त, एनआइसी एशिया लघुवित्त र साना किसान लघुवित्त वित्तीय संस्थाले मात्रै वित्तीय रिर्पोट प्रकाशित गरेका छन् ।
संचालनमा रहेका ६० भन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुमध्ये ६ लघुवित्तले मात्रै वित्तीय रिर्पोट सार्वजनिक गरेका हुन् । नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले तीन–तीन महिनामा वित्तीय विवरण प्रकाशित गर्नुपर्ने हुन्छ । तर लघुवित्तहरुले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न ढिलाई गरिरहेका छन् ।
६ लघुवित्तले सार्वजनिक गरेको विवरणअनुसार तीन लघुवित्तको मुनाफा गत आर्थिक वर्षको तुलनामा बढेको छ भने तीनको घट्न पुगेको छ । लघुवित्तहरुको खराब कर्जा बढेसँगै नाफा प्रभावित बन्न पुगेको विवरणले देखाएको छ ।
आधा दर्जन लघुवित्तमध्ये सबैभन्दा बढी मुनाफा आर्जन गर्नेमा साना किसान लघुवित्त रहेको छ । लघुवित्तले चालु आवको ६ महिनासम्ममा ४३ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिसम्म लघुवित्तले ३२ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, दोस्रोमा एनआइसी एशिया लघुवित्तले पनि १४ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तर लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । गत आवको यसै अवधिसम्म लघुवित्तले ३९ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
साथै फर्स्ट माइक्रोफाइनान्सले १४ करोड ४४ लाख, आरएसडीसी लघुवित्तले ७ करोड ९४ लाख, आशा लघुवित्तले ३ करोड ६५ लाख र मिथिला लघुवित्तले २ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
मुनाफामा कुनले कति बृद्धि गरे ?
आधा दर्जन लघुवित्तमध्ये आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी मुनाफा बढाउन सफल भएको छ । आरएसडीसीले गत आवको तुलनामा ६२.३४ प्रतिशतले नाफा बृद्धि गरेको छ ।
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सले ३८.३५ प्रतिशत, साना किसान विकास लघुवित्तले ३४.३३ प्रतिशतले नाफा बढेको छ । बाँकी तीन लघुवित्त मिथिलाको ३७.२५ प्रतिशत, आशा लघुवित्तको ५८.०४ प्रतिशत र एनआइसी एशिया लघुवित्तको ६१.८५ प्रतिशतले नाफा घटेको छ ।













