मैले कुनै गल्ती गरेको प्रमाणित भए भने टुँडिखेलमा लगेर झुण्ड्याउनु होला: अध्यक्ष हमाल
२३ माघ २०७९, सोमबार १७:३२

काठमाडौं ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफूलाई लगाएको आरोपप्रति खण्डन गर्दै प्रमाणित भए टुँडिखेलमा झुण्डिन तयार रहेको बताए । केही मिडियामा आफ्नो बारेमा चरित्र हत्या हुने गरी समाचार प्रकाशित भएपछि त्यसको खण्डन गर्न आयोजित पत्रकार सम्मेलनमा हमालले सो कुरा बताएका हुन ।
उनले भने–‘म अहिले ५५ वर्षको भए । मैले कुनै गल्ती गरेको प्रमाणित भए भने टुँडिखेलमा लगेर झुण्ड्याउनु होला।’बोर्डका अध्यक्ष हमाललाई आइपीओ स्वीकृत गर्दा बिचौलियामार्फत घुस मागेको आरोप लगाइएको थियो । बुक बिल्डिङ प्रक्रियामार्फत रियल सेक्टरका कम्पनी आउने प्रक्रियामा पनि हमालले भाँजो हालेको समेत मिडियामा आरोप लगाइएको थियो ।












