मोलुङ्ग हाइड्रोपावरले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्दै , क–कसले दिन पाउन्छन् आवेदन ?

२५ माघ २०७९, बुधबार १०:०९

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले सार्वजनिक निष्काशनका लागि आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन १८ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*