सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने संस्था बन्यो छिमेक लघुवित्त, अधिकांश सूचकमा उल्लेख्य प्रगति

काठमाडौं । छिमेक लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ ।
चालु आवको पुष मसान्तसम्ममा कम्पनीको खुद नाफा ११.५६% ले बढेर ५५ करोड ६० लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा संस्थाले ४९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो । हालसम्म वित्तीय विवरण प्रकाशित गरेका लघुवित्त संस्थाहरुमध्ये छिमेक लघुवित्तले सबैभन्दा ५५ करोडमाथिको नाफा आर्जन गरेको हो ।
यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी २८.१३% ले बढेर १ अर्ब ४३ करोड ६२ लाख ९२ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १२.०७% ले बढेर ७९ करोड ७८ लाख ८१ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै सुधार हुँदा खुद नाफा पनि बढेको हो ।
यता, पुस मसान्तसम्म छिमेकको वितरणयोग्य नाफा ४३ करोड ३७ लाख ४४ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा २ अर्ब २८ करोड ७६ लाख रुपैयाँ जम्मा रहेको छ । समिक्षा अवधिसम्म संस्थाको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ छ । यस पुँजीमा कम्पनीले २२% बोनस सेयर वितरण गर्ने घोषणा गरेकाले पुँजी थप वृद्धि हुनेछ ।
कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ४ रुपैयाँ ९६ पैसाले बढेर ४७ रुपैयाँ ८५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने २७३ रुपैयाँ ७० पैसा छ । पुष मसान्तसम्म संस्थाको निक्षेप ९.४१ प्रतिशतले बढेर २९ अर्ब ५६ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा परिचालन १.६९ प्रतिशत बढेर ३३ अर्ब ५३ करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।












