कृषि विकास बैंकको सिईओ नियुक्तीका लागि पाँच जनाको सर्टलिष्ट छनौट, आईतबार अन्तर्वार्ता

काठमाडौं । कृषि विकास बैंकको सिईओ नियुक्तीका लागि पाँच जनाको नाम सर्टलिष्ट छनौट भएको छ । आवेदन दिएका २२ जना मध्येबाट सिभिल बैंकका पूर्व सिईओ गोविन्द गुरुङ्को नाम पहिलो नम्वरमा निकालिएको छ भने दोस्रो नम्वरमा हालका बैंकका डेपुटी सिईओ प्रताप सुवेदीको नाम छ । त्यस्तै, तेस्रो नम्वरमा यज्ञ प्रसाद न्यौपानेको नाम सर्टलिष्टमा समावेश गरिएको छ भने चौथो र पाँचौं नम्वरमा बद्रि गुरागाँई र विष्णुदेव यादव रहेका छन् ।
योग्यता नै नपुगेका व्यक्ति अध्यक्ष भएर काम गरिरहेको कृषि विकास बैंकमा आफै अयोग्य व्यक्तिले योग्य व्यक्ति खोजी गर्न आगामी आइतबार अर्थात फागुन ६ गते कार्ययोजना प्रस्तुतीकरणको लागि कार्यतालिका सार्वजनिक गरेको छ । उनीहरुलाई आइतबार विहान ११ बजेदेखि ४ बजेसम्म पालैपालो अन्तर्वार्ता लिइने हिजो प्रकाशित सूचनामा जनाइएको छ ।
कम्पनीले गत पुस १९ गते गठन गरेको प्रमुख कार्यकारी अधिकृत नियुक्तीका लागि छनौट समितिले नयाँ सिईओ नियुक्ती प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । हिजो फागुन ४ गतेको निर्णय अनुसार सर्टलिष्टमा पाँच जनाको नाम समावेश गरेको हो ।
उता, यसअघि पनि कृषि विकास बैंकको सिईओ बन्ने भन्दै राजनीतिक लविङ गरेको सिडिएस एण्ड क्लीयरिङ हाउसका पूर्ण प्रसाद आचार्यको नाम नै सर्टलिष्टमा पर्न असफल भएका छन् ।













