कृषि विकास बैंकमा अयोग्य अध्यक्षलाई बर्खास्त गर्न माग गर्दै अख्तियारमा उजुरी, गभर्नर अधिकारीको नैतिकतामाथि प्रश्न

काठमाडौं । कृषि विकास बैंकमा अयोग्य व्यक्ति अध्यक्ष भएको विषय अब अख्तियारमा पुगेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा उल्लेखित योग्यता नपुगी २०७८ साल कार्तिक १२ गतेदेखि कृषि विकास बैंकका सञ्चालक बनेका रमेश कुमार दुवाडीलाई बर्खास्त गर्न माग गर्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दताए भएको हो ।
आज अपरान्ह दर्ता गरिएको सि–०४२३९४ नम्वरको उजुरीमा कृषि विकास बैंकमा योग्यता नै नपुगेको व्यक्ति सञ्चालक हुँदै अध्यक्षको हैसियतमा कार्यरत रहेकोले तत्काल हटाउन माग गरिएको छ । आयोगमा दर्ता भएको उजुरीमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक पहुँच र आर्थिक लेनदेनमा योग्यता नै नपुगेको व्यक्तिलाई सञ्चालक बनाइएको छ । गत आम निर्वाचन सम्पन्न भई काम चलाउ अवस्थामा नियोजित रुपमा अध्यक्ष बनाइएको भन्दै कारवाहीको मागदावी सहित उजुरी दर्ता भएको हो ।

बाफियामा भएको व्यवस्था अनुसार स्नातकोत्तर उत्तीर्ण गरेर बैंक तथा वित्तीय संस्थामा कम्तीमा तीन वर्ष सञ्चालक वा पदाधिकारी वा नेपाल सरकारको अधिकृत तहमा पाँच वर्ष काम गरेको अनुभवसहितको स्नातक तहको शैक्षिक योग्यता भएको व्यक्ति मात्रै नेपाली बैंकहरुको सञ्चालक हुनुपर्ने विद्यमान कानुन विपरित स्नातक मात्रै उत्तिर्ण गरेका रमेश दुवाडीलाई गैर कानुनी रुपमा कृषि विकास बैंकमा विगत १७ महिनादेखि सञ्चालक हुँदै अध्यक्ष बनेर काम गरिरहेका छन् ।
उजुरीकर्ताले स्नातकोत्तर उत्तिर्ण नगरेका र पाँच वर्ष नेपाल सरकारको अधिकृत स्तरको तहमा रहेर काम नगरेको अयोग्य व्यक्तिलाई कृषि विकास बैंकमा नियुक्त गरिएकोले दुवालले हालसम्म बुझिलिएको भत्ता तथा अन्य सेवा सुविधाहरुको ब्याजसहित असुल गर्न माग गरिएको छ । त्यस्तै, उजुरीकर्ताले नेपाल राष्ट्र बैंकका गभर्न महाप्रसाद अधिकारीलाई समेत छानविनको दायरामा ल्याउन माग गरिएको छ । नियामक निकाय हुनुको नाताले सरकारी लगानी समेत रहेको सार्वजनिक कम्पनीमा ऐन विपरित नियुक्त भई आएका अध्यक्षको शैक्षिक योग्यताको समेत अध्ययन नगरी जानजान कानुनको उल्लंघन रोक्न कुनै भूमिका नखेलेको भन्दै गभर्नर अधिकारीमाथि समेत कारवाही गर्न माग दावी गरिएको छ ।
बीमापोष्टले कृषि विकास बैंकको अध्यक्ष पदमा योग्यता नै नपुगेको व्यक्ति अध्यक्षको हैसियतमा काम कारवाही गरिरहेको भन्दै समाचार प्रकाशन गरेको थियो ।
कृषि विकास बैंकमा योग्यता नै नपुगेका रमेश दुवाडी अध्यक्ष, ‘शैक्षिक योग्यताबारे थाहा छैन’: दुवाडी












