नेपाल पे क्युआरमा २ लाख भन्दा बढी मर्चेन्ट आबद्ध

काठमाण्डौं, बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपाल पे क्युआरमा २ लाख भन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । छोटो अन्तरालमा २ लाख भन्दा बढी मर्चेन्टहरु क्यआरमा आबद्ध गरिनुले नेपालमा क्युआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्युआर सञ्चालनमा ल्याइएको हो । क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । हाल २३ बैंक वित्तीय संस्था तथा २ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरुले नेपाल पे क्युआरमा आबद्ध हुन सक्दछन् भने १६ बैंक वित्तीय संस्था तथा ४ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत स्क्यान एण्ड पेको सुविधा उपलब्ध रहेको छ ।
विभिन्न व्यावसायिक ग्राहकले नेपाल पे क्युआरमा आबद्ध भई क्युआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायक सँग सम्पर्क गर्नुपर्ने हुन्छ । भौतिक रुपमा क्युआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्युआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा क्युआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ ।
यसका निम्ती हाल सिटिजन्स बैंक इन्टरनेसनल, एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, नेपाल एसबिआइ बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा बिकास बैंक, ज्योति विकास बैंक, कामना सेवा बिकास बैंक, साइन रेसुङ्गा डेभलप्मेन्ट बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आइसिएफसि फाइनान्स, पोखरा फाइनान्स, सम्बृद्धि फाइनान्स लगायत पे. नेप. प्रा.लि. मार्फत सो सेवा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक पनि थपिने क्रममा रहेका छन् ।











