५ अर्ब ऋण लिएका व्यवसायी दुर्गा प्रसाईंले कुन बैंकलाई कति बुझाउनुपर्ने ?

११ फाल्गुन २०७९, बिहीबार १३:२४

काठमाडौं ।विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका व्यवसायी दुर्गा प्रसाईंले बैंकलाई बुझाउनुपर्ने साँवा(ब्याज बुझाएका छैनन्। उल्टै उनले ऋण नतिर्न भन्दै अभियान चलाउँदै हिँडेका छन्।

प्रसाईंले सार्वजनिक कार्यक्रम तथा विभिन्न सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्तामा बैंकबाट लिएको ऋण नतिर्न मुलुकको पूर्वी भेगमा अभियान चलाएका छन्। यसै बिषयमा बैंकर्स संघले छलफल समेत अघि बढाएको छ। प्रसाईंले विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै बैंकबाट लिएको ऋण नतिर्न अभियान चलाएपछि बैंकरमाथि ऋणी खनिएका हुन्। उनको यस्तो अभिव्यक्तिपछि पूर्वका बैंकरहरुले ऋण असुली गर्न जाँदा ‘प्रसाईंले ऋण नतिर्न भनेका छन्’ भन्दै दुर्व्यवहार खेप्न थालेका छन्। प्रसाईं आफैंले भने बैंक तथा वित्तीय संस्थाबाट साढे ५ अर्बभन्दा बढी परिमाणको ऋण लिएका छन्।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार प्रसाईंले नबिल बैंकबाट ७६ करोड, प्रभुबाट १ अर्ब २० करोड, तत्कालीन एनसिसी हालको कुमारी बैंकबाट १ अर्ब, राष्ट्रिय वाणिज्यबाट ७० करोड, तत्कालीन मेगा हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख, गुडविल फाइनान्सबाट ११ करोड, तत्कालीन जनता बैंक हालको ग्लोबल आइएमईबाट १ अर्ब रुपैयाँ ऋण लिएका छन्।

प्रसाईंले कूल ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएको देखिन्छ। उनले पूर्वाञ्चल क्यान्सर अस्पताल, बिएन्डसी अस्पताल, होटल एट्रियम, शुभम हाउजिङलगायत क्षेत्रमा लगानी गर्न बैंकबाट ठूलो परिमाणमा ऋण लिएका हुन्।

ऋण दिएका बैंकका अनुसार प्रसाईंले बैंकलाई बुझाउनुपर्ने साँवा–ब्याज पनि भुक्तानी गरेका छैनन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*