उतारचढावकाबीच शेयरबजारमा झिनो अंकको बढोत्तरी, लघुवित्तहरुको शेयरमूल्य बढ्यो

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य सुधार देखिएको छ । उतारचढावकाबीच आज नेप्से सूचक अंकले ४.५५ अंकले बढेर २०२७ को विन्दुमा कायम हुन पुगेको छ ।
केही दिनयता उतारचढाव देखिएको शेयरमार्केटमा आज झिनो अंकले बढ्न पुगेको हो । राजनीतिक अस्थिरताका कारण ओरालो लागेको शेयरबजारमा थोरै सुधार देखिन पुगेको हो । आज बजार खुलेको केही समयसम्म नेप्से इन्डेक्स उच्च अंकले घटेर १९ सयको विन्दुमा तल झरेपनि मार्केट क्लोज हुने बेलासम्म ४ अंकले बढेर बन्द हुन पुगेको हो ।
नेप्सेमा सूचीकृत २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ५२ करोड ५० लाख रुपैयाँमाथिको कारोबार हुन पुगेको छ । अघिल्ला दिनहरुमा भारि गिरावट आएसँगै धमाधम घटेको शेयर खरिद गर्न लगानीकर्ताहरुले खरिद माग गरेका कारण पनि आजको कारोबार रकम केही हदसम्म बढ्न पुगेको हो ।
नेप्सेमा रहेको १३ उपसूचक मध्ये आज ५ उपसूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ । बैकिङ्ग, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापार सूचक घटेको छ भने अन्य उपसूचकहरु सबै बढेका छन् ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई कडाई गरेसँगै उच्च अंकले घट्न पुगेको लघुवित्त संस्थाहरुको शेयरमूल्य आज बढ्न पुगेको छ । लघुवित्त उपसूचक आज सर्वाधिक २.७८ प्रतिशतले बढेकोछ ।












