शेयरधनीहरुलाई बम्पर लाभांश घोषणा गरेको उपकार लघुवित्तको शेयरमूल्य १०४ रुपैयाँले बढ्यो, कति पुग्यो शेयरमूल्य ?

१५ फाल्गुन २०७९, सोमबार १३:०२

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई बम्पर लाभांश प्रस्ताव गरेको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १०४ रुपैयाँ ५० पैसाले बढेको छ । केही दिनयता निरन्तर घट्न थालेको लघुवित्तहरुको शेयरमूल्य एकाएक बढ्न थालेसँगै उपकार लघुवित्तको शेयरमूल्य पनि उकालो लागेको हो ।

नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई जारी एकीकृत निर्देशनमा २० प्रतिशत भन्दा बढी बोनस शेयर वितरण गर्न नपाउने तथा कर्जा प्रवााहका विषयमा कडाई गरेसँगै ह्वात्तै घट्न पुगेको लघुवित्तहरुको शेयरमूल्य फेरी बढ्न थालेको छ । यो समाचार तयार पार्दासम्म उपकार लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.५५ प्रतिशत अर्थात १०४ रुपैयाँ ५० पैसाले बढेर शेयरमूल्य १९८८ रुपैयाँ ५० पैसा पुगेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६१.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.२५ प्रतिशत नगद लाभांश गरी कुल ६५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज समेत गरिसकेको छ । बुकक्लोजअघि संस्थाको शेयरमूल्य बढेर ३८७५ रुपैयाँसम्म पुगेको थियो । नेप्सेले बोनस शेयर वितरणका लागि संस्थाको शेयरमूल्य ३७३७ रुपैयाँका आधारमा २३१० रुपैयाँ ३६ पैसा कायम गरेको थियो ।

समायोजनपछि २३१० रुपैयाँमा संस्थाको कारोबार खुलेपछि संस्थाको शेयरमूल्य बढेर २३३५ रुपैयाँसम्म पुगेको थियो । त्यसलगत्तै राष्ट्र बैंकको कडाईसँगै लघुवित्तको शेयरमूल्य घट्न पुगेको हो । संस्थाको शेयर घटेर १७१० रुपैयाँसम्म पुगेको थियो । आज कारोबार खुलेको केही समयमा नै उपकार लघुवित्तको शेयरमूल्य एकाएक ५.५५ प्रतिशत अर्थात् १०४ रुपैयाँले बढेर १९८८ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*