बैंकहरुले स्थायी तरलता सुविधा (एसएलएफ) बढाउन थाले

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) लिन थालेको छन् । चालु आर्थिक वर्षका सुरुका महिनामा बैंकहरुले एसएलएफ मार्फत ठूलो परिमाणमा अल्पकालिन सापटी लिएका छन् ।
प्रणालीमा तरलता बढ्न थालेसँगै बैंकहरुले एसएफएफ लिने क्रम घटेको थियो । जसअनुसार गत माघमा बैंक तथा वित्तीय संस्थाले एक दिन मात्र यस्तो सुविधा लिएका थिए ।
त्यतिबेला तरलताको अवस्था सहज भएपछि एसएलएफ लिने क्रम घटेको रुपमा विश्लेषण गरिएको थियो । गत माघ मसान्तमा (राष्ट्र बैंकले रिपोमार्फत बजारमा पठाएको ५० अर्ब रुपैयाँका परिपक्व अवधि सकिएपछि) एक्कासी तरलतामा कमी देखिएको थियो । यही कारण राष्ट्र बैंकले पुनः रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाएको छ ।
उक्त रकमले तरलता अभावको अवस्थामा सुधार ल्याएपनि सहज भने भइनसकेको बैंकहरु बताउँछन् । यही कारण पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थाले एसएलएफमार्फत अल्पकालीन सापटी लिन थालेका हुन् । जसअनुसार बैंक तथा वित्तीय संस्थाले यही फागुन १, २, ३ र ५ गते एसएलएफ लिएका थिए । त्यसपछि एकै पटक यही फागुन १० र १२ गते यस्तो सुविधा लिएका छन् । यद्यपि एसएलएफ सापटी लिने परिमाण भने घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
एसएलएफ बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्र धितोमा राष्ट्र बैंकबाट लिने अल्पकालीन सापटी हो ।












