मोलुङ हाइड्रोपावरको आइपिओ बाँडफाँड, ५ जना भाग्मानी शेयरधनीले पाए ११ कित्ता शेयर

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आइपिओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज क्यापिटलको कार्यालयमा शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपिओमा कुल १४ लाख २४ अह्जर ३ सय ५१ आवेदकबाट १ करोड ५५ लाख ७९ हजार ८ सय कित्ताको आवेदन परेको थियो । जस मध्ये ७ हजार ५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य आवेदकको संख्या १४ लाख १७ हजार ३ सय ४६ रहेको छ।
माग भन्दा बढीको आवेदन परेकोले क्यापिटलले योग्य रहेका १४ लाख १७ हजार ३ सय ४६ जनालाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथा मार्फत शेयर बाँडफाँड गरेको छ । जस अनुसार २ लाख २६ हजार ४ सय ६५ जनाले शेयर पाएका छन् । २ लाख २६ हजार ४ सय ६५ जना आवेदक मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । कम्पनीले फागुन ४ देखि फागुन १० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले कम्पनीमा कार्यरत कर्मचारीको लागि ५४ हजार ५ सय ७० कित्ता शेयर र सर्वसाधारणलाई २२ लाख ६४ हजार ६ सय ५५ कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, र विदेशमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ । कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आईरहेको छ ।












