सुर्यज्योति लाइफ र वैदेशिक रोजगार बोर्डका कर्मचारीको मिलोमतोमा मृत्यु बीमा दाबी भुक्तानीमा ठगी, दुबै निकाय प्रहरीको अनुसन्धानमा

काठमाडौं । सुर्यज्योति लाइफ र वैदेशिक रोजगार बोर्डका कर्मचारीको मिलोमतोमा मृत्यु बीमा दाबी भुक्तानीमा ठगी गरेको तथ्य नेपाल प्रहरीले आज सार्वजनिक गरेको छ । बीमा दावी भुक्तानी सम्बन्धमा भएको ठगी काण्डको सुक्ष्म अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले घटनामा बीमा कम्पनी सूर्यज्योति लाइफकै संलग्नता फेला परेपछि कानुनी कारवाही अघि बढाएको छ । वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा ( कम्प्युटर अपरेटर ) ३६ वर्षीय पशुपति अधिकारी तथा सूर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी छन् । यसअघि प्रहरीले यसै गिरोहका ६ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको थियो ।

बीमा बापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम लिई ठगी गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँ गोङ्गबु स्थितबाट राम बहादुर तामाङ समेत ६ जनालाई चैत २३ गते पक्राउ गरेको थियो ।
उनीहरूबाट विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याड लगायतका महत्त्वपूर्ण अन्य विविध कागजातहरू सहित फेला पारी निजहरूलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको थियो ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार थप व्यक्तिहरूको खोजतलास गर्ने क्रममा चैत २४ गते काठमाडौँ–११ बाट पशुपति अधिकारी र चैत २५ गते भक्तपुर–१० कमलविनायकबाट उमेश बुढाथोकीलाई पक्राउ गरिएको थियो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनले जानकारी दिए ।
वैदेशिक रोजगारीमा गएका श्रमिकको परिवारलाई झुठो आश्वासन दिएर बीमा दाबी रकममा ठगी गर्ने ६ जना पक्राउ













