नयाँ लघुबीमा कम्पनीहरुले पनि गैरसरकारी संस्थामार्फत पोलिसी बिक्री गर्न पाउने

२८ चैत्र २०७९, मंगलवार १४:१०

काठमाडौं । सरकारले न्यून आय भएकाहरुको लागि लक्षित गरि ल्याएको लघु बिमा कम्पनीहरूको पोलिसी गैरसरकारी संस्थाले पनि बिक्री गर्न पाउने भएका छन् ।नेपाल बीमा प्राधिकरणले जारी गरेको निर्देशनबमोजिम व्यक्तिगत लघु बीमा र संस्थागत लघु बीमा अभिकर्ता नियुक्त गर्न पाउने प्रावधान रहेको छ ।  ।

संस्थागत अभिकर्तातर्फ गैरसरकारी संस्था, स्वावलम्बन समूह, लघुवित्त वित्तीय संस्था, सहकारी संस्था र कानुनबमोजिम दर्ता भएका अन्य संगठित संस्थाले पनि अभिकर्ता भई कम्पनीको पोलिसी बिक्री गर्न पाउनेछन् । बीमकले संस्थागत लघु बीमा अभिकर्तासँग सम्झौता गर्नुअघि संस्थाको ख्याति, विगतको कारोबार, कार्यक्षमता, निजसँग सम्बन्धित कानुनको परिपालना आदिको अध्ययन गरी उपयुक्त ठहरिएमा मात्र सम्झौता गर्नुपर्नेछ ।

लघु बीमा अभिकर्ताले जीवन बिमाको हकमा बिमा नियमावलीबमोजिम कमिसन पाउनेछन् भने निर्जीवन बिमाको हकमा ५ प्रतिशत कमिसन पाउने प्राधिकरणले व्यवस्था गरेको छ । त्यस्तै, बिमा कम्पनीहरूले सामूहिक लघु बिमा जारी गर्न पाउनेछन्न् । सामूहिक लघु बीमामा आबद्ध प्रत्येक बीमितको नाम सूची संलग्न गरी बिमालेख धारकको नाममा जारी गर्नुपर्नेछ ।

त्यस्तै, बीमकले लघु बीमा दाबीसम्बन्धी आवश्यक कागजात प्राप्त भएको २१ दिनभित्र दायित्व यकिन गरी भुक्तानी गर्नुपर्नेछ । भुक्तानी गर्दा सामूहिक जमानीलाई आधार मानी दाबी भुक्तानी गर्न सक्नेछ ।
सामूहिक जमानीमा संलग्न व्यक्ति कम्तीमा पाँचजना हुनुपर्ने र प्रत्येकको हस्ताक्षर, नाम, थर, ठेगाना, नागरिकता र सम्पर्क नम्बरसमेत स्पष्ट खुलेको हुनुपर्नेछ ।
प्राधिकरणले सातवटा लघु बीमा कम्पनीलाई लघु बिमा व्यवसाय सञ्चालनका लागि पहिलो चरणको अनुमति प्रदान गरेको छ । जसमध्ये चारवटा कम्पनीले पुँजी कायम गरी दोस्रो चरणको अनुमति लिएका छन् भने तीनवटा कम्पनीले पुँजी जुटाउनका लागि समय थप गर्न प्राधिकरणसँग निवेदन गरेका छन् ।
प्राधिकरणका अनुसार लघु बीमा व्यवसाय सञ्चालनका लागि नयाँ कम्पनी सञ्चालनमा आउने भए हाल सञ्चालनमा रहेका बीमा कम्पनीले समेत लघु बीमा पोलिसी जारी गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*