सिटी होटलको आईपीओ भोलि बाँडफाँड हुने, कतिले पाउछन् १० कित्ता शेयर ?

काठमाण्डौ । सिटी होटल लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ भोलि मंगलबार (वैशाख १२ गते) बाँडफाँड हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा सिटी होटलको आईपीओ बाँडफाँड हुने भएको हो । बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ ।
होटलले जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि जारी गर्ने अनुमति पाएको थियो । जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १६ लाख ७४ कित्ता आईपीओ बिक्री गरिनेछ । कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख ६७ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको थियो । कम्पनीले गत चैत २१ गते वैशाख ५ गतेसम्म विदेशमा रहेका श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो ।
अन्तिम दिन साँझसम्म यो आईपीओमा विदेशमा रहेका १९ हजार ९०३ श्रमिकबाट कुल ५ लाख ७४ हजार १५० कित्ता सेयर माग भएको थियो । जुन मागभन्दा ३.४३ गुणाले बढी हो ।












