नयाँ स्टक एक्सचेन्जको आवेदनको नतिजा एक महिनामा, कसरी हुन्छ छनोट ?

काठमाडौं । लामो समयदेखि लाईसेन्स दिने विवादमा रह्दै आएको धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । बोर्डका अनुसार स्टक एक्सचेन्ज को लागि ३ वटा कम्पनी र कमोडीटी एक्सचेन्जको लागि चार कम्पनीको आवेदन परेको छ। बोर्डको पुरानो रिटको अदालती प्रकृया अझै नसकिएको हुँदा केही समय लाग्ने पनि देखिन्छ ।
बोर्डले प्रस्तावित तीन कम्पनीमध्ये एकलाई छनोट गरेर नयाँ स्टक एक्सचेन्जको मान्यता दिने छ भने कमोडीटी एक्सचेन्जमध्ये चारबाट तीन कम्पनी छनोट गरेर दुईलाई लाईसेन्स दिनेछ ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि हिमायलन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको छ ।
त्यस्तै, कमोडीटी एक्सचेन्जतर्फ नेपाल मल्टी कमोडीटी एक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जले नेपाल धितोपत्र बोर्डमा कमोडीटी एक्सचेन्ज सञ्चालनको लाइसेन्सका लागि आवेदन परेको छ।
नेपाल धितोपत्र बोर्डले गत चैतमा एउटा स्टक एक्सचेन्ज र दुईवटा कमोडीटी एक्सचेन्जको लागि आवेदन माग गर्दै आवेदन पेश गर्न आह्वान गरेको थियो । बोर्डले दिएको निश्चित अवधिभित्रै कम्पनीहरुले आवेदन दिएका थिए।
गत शुक्रबार आवेदन दिएको हिमालयन स्टक एक्सचेन्जले व्यवसायिक घराना शंकर समूहको अगुवाईमा बोर्डमा आवेदन दिएको छ ।
शंकर ग्रुपका शंकरलाल अग्रवालसँगै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणाका साथै खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगड, ज्योती समूहका शौरभ ज्योती लगायतका ठूला व्यापारी र व्यावसायिक घरानाको लगानी रहेको एक्सचेन्जले लाइसेन्सका लागि बोर्डमा आवेदन दिएको थियो । यसमा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी छ ।
यस्तै आइतबार गैरआवासीय नेपाली तथा नेपालका केही व्यवसायिक घरानाको समेत लगानीमा ‘नेशनल स्टक एक्सचेन्ज’को नामबाट अर्को आवेदन परेको हो । दीपक तिमल्सिनाको नेतृत्वमा दर्ता भएको उक्त कम्पनीमा एनआरएनहरुको लगानी रहेको छ । कम्पनीमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने तथा हालका अध्यक्ष कूल आचार्य, बद्री केसी लगायतको लगानी छ । यस्तै नेशनल स्टक एक्सचेन्जमा केडिया समूहको पनि लगानी छ । मनोज केडिया, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ लगायत व्यवसायिक घरानाको समेत लगानी छ ।
आईतबार नै बोर्डमा आवेदन दिएको अन्नपूर्ण स्टक एक्सचेन्जमा गणेश कुमार श्रेष्ठ, सुरेन्द्र राज वाग्ले, मुक्ति बोध न्यौपाने, अनिल सापकोटा, प्रकाश कुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेतिलाई सञ्चालकको रुपमा प्रस्ताव गरिएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल ब्रोकरको लाइसेन्स नियमावलीमा भएको व्यवस्थाअनुसार आवेदन आएको मितिले ३५ दिनभित्र बोर्डबाट निर्णय गरेर टुंगिने बताउँछन् ।नयाँ स्टक एक्सचेञ्ज र कमोडिटि छनोटको जिम्मेवारी संचालक समितिको हुने भएको छ।
सर्वोच्चको काम अझै बाँकि नै छ। रिट खारेज भएको पत्र आएसँगै पुन सुरु भएको उनले बताए । अबको २०÷२२ दिनमा ब्रोकर लाइसेन्सको प्रक्रिया बोर्डबाट निर्णय भएर टुंगिने उनले बताए । यसअनुसार करिब ३ हप्ताभित्रै स्टक ब्रोकरको लाइसेन्स प्राप्त गर्ने कम्पनीहरुको टुंगो लाग्ने छ ।
यसरी जाँचबुझ गर्दा बोर्ड व्यवस्थापनले आवश्यक देखेमा निवेदकसँग कुनै विषयमा स्पष्ट पार्न लगाउन सक्ने व्यवस्था धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ ले गरेको छ ।
छनोट प्रकृया यस्तो छ,
अनुमतिका लागि बोर्डले धितोपत्र बजार र वस्तु विनिमय बजार सञ्चालन बारे छनोट निर्देशिकालाई आधार मान्नेछ। धितोपत्र बजार छनोटका लागि २०७९ मा बनेको निर्देशिका छ भने कमोडिटीको २०७८ मा बनेको थियो। दुवै बारे बनेका छुट्टाछुट्टै ऐन र नियमावलीलाई पनि विचार गरिनेछ।
निदेशिकाका अनुसार कम्पनीहरुले प्रस्तुत गरेको बिस्तृत वित्तीय विवरण, कार्य योजना, सञ्चालकहरुको अनुभव र योग्यतालाई मापदण्ड बनाइने व्यवस्था छ। प्रस्तावित प्रविधिको गुणस्तरलाई पनि मूल्यांकन समावेश गरिएको छ। जसलाई सम्बन्धित समितिले जाँचबुझ गर्नेछ।
स्टक एक्सचेन्ज निवेदक कम्पनीलाई मापदण्डहरुका आधारमा अंक दिने व्यवस्था छ। जसको पूर्णाङक १०० छ। विस्तृत व्यवसायिक कार्य योजनाको ६० अंक बाहेक समितिले अन्य मापदण्डमा प्राप्त अंक र अंकभारलाई गणना गरि बोर्ड समक्ष पेश गर्नेछ।
प्रस्तावित प्रविधिको २४ अंक, सञ्चालकहरुको अनुभव र शैक्षिक योग्यतालाई ८ अंक र पुँजीलाई ४ अंकभारमा विभाजन गरिएको छ।












