आर्थिक मन्दीसँगै नेपालको वित्तीय क्षेत्रमा आएका मन्दीका कारण र यसमा बीमा क्षेत्रको भूमिका

पृष्ठभूमि
उत्पादन, उधोग, रोजगार, व्यापार, मुल्यस्तर, मुद्रा जस्ता आर्थिक कारोवारहरूको समग्र स्वरूप नै अर्थतन्त्र हो । अर्थतन्त्र अन्तर्गत वास्तविक क्षेत्र र र मौद्रिक क्षेत्र रहेको हुन्छ त्यसमा पनि बैकिंग क्षेत्रको हिस्सा धेरै ओगटेको हुन्छ ।विश्वमा सन २००८ मा आएको आर्थिक मन्दी पछि हाल देखिएको मन्दीको कारण रूस युक्रेन युद्ध र कोभिड –१९ ले थला परेको अर्थतन्त्र बाट आएको सृजित समस्याको कारण हुन सक्दछ ।विश्वमा आर्थिक रूपमा समपन्न कलिएका राष्ट्रका लामो व्यवसायिक इतिहास बोकेका बैंक तथा वित्तीय संस्थाहरू एक पछि अर्को गरी विश्वमा श्रंखलाबद्ध रूपमा बैंकको अवसान पछि बैकिङ्ग क्षेत्रमा संकट देखा पर्न थालिएको छ ।
अमेरिकाको सिलिकन भ्याली बैंक,सिगनेचर बैंक, स्वीजरल्यान्डको क्रेडिट बैंक, जमर्नीको डवेच बैंक पनि अवसानको संघारमा रहेको भन्ने आर्थिक समाचारहरूले गर्दा विश्व अर्थतन्त्रमा ठुलो तरंग ल्याएको छ । वित्तीय संगठन विश्व बैंक, मुद्राकोष, युरेपियन युनियन, आदि संस्थाहरूले समेत सन् २०२३ मा आर्थिक मन्दी आउने भविष्यवाणी समेत गरेका छन भने अर्थशास्त्रीहरूले कहिल्यै यस अघि नदेखिएको आर्थिक मन्दी विश्वले भोग्नु पर्ने भन्दै विश्व जगतलाई सचेत गराएको छन् ।
विश्वमा अमेरिकी देशहरूमा आएको मन्दीको प्रभाव युरोप हुदै एशियाका धेरै देशहरूले आर्थिक संकटको सामना झेलिरहेका छन । जसमा श्रीलंकाले चरम आर्थिक संकटको समस्या झल्नुपरेको छ भने हाल पाकिस्तान, बगांलादेश,अफगानस्थान मा समेत आर्थिक मन्दीको प्रभाव विस्तारै देखिन थालेको छ ।एशियाका धेरै विकासन्मुख राष्ट्रमा समेत यसको प्रभाव बढदै गएको छ । पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बाट अछुतो रहने कुरै भएन ।
त्यसमा पनि नेपालका छिमेकी राष्ट्र चिनले लिएको कोबिड शून्य नीतिले नेपाल सँगको व्यापार घटदा राजस्व प्रभावित भएको छ भने उसले दिने साहयता रकम समेत घटाएको छ । त्यस्तै भारत संगको दुई तिहाई व्यापार रहेको राष्ट्र सँग झनै मन्दीको प्रभावको असर देखिन्छ । नेपाल पनि कुनै कुनै माध्यमबाट विश्व अर्थतन्त्र सग जोडिएको छ । नेपालले पनि खुल्ला अर्थनीति अवलम्वन गरेको छ ।जसले गर्दा विश्व अर्थतन्त्रमा आउने साना ठुला सवै उतावचढाव तथा परिर्वतनहरूले कहिले सकरात्मक रूपमा त कहिले नकरात्मक रूपमा नेपालको अर्थतन्त्रलाई प्रभाव पारि रहेको हुन्छ । जुन विश्व अर्थतन्त्र सँगको सिधा असर नेपालमा परेको हुन्छ ।
दैनिक रूपमा वित्तीय क्षेत्र जस्तै बैंक,बीमा, लघुवित्ति संस्था, सहकारी संस्थाहरूमा भएको तरलताको अभावले मागमा चाप पर्नु, माग अनुसारको कर्जा प्रवाह हुन नसक्नु, वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरूमा भएको असुरक्षा र निश्चित समुह बाट बैंक तथा वित्तीय क्षेत्र प्रति को आराजक शैली, उधोग वाणिज्य निजि क्षेत्र आन्दोलित बन्नु, आर्थिक अनुसासन उल्घनका घटना, मिटर ब्याजीहरूको समस्या आदि कारणले वित्तीय क्षेत्रमा आएको संकटलाई इकिंत गर्दछ ।
देशमा रोजगारी सृजना नहुदा बेरोजगारी दर क्रमश बढ्दै जानु, आयत क्रमश बढ्दै गए पनि निर्यात घटदो हुनु, आकासिदो मुल्य बृद्धि नियन्त्रण बाहिर रहनु,राजस्व संकलन घटदै जानु र चालु खर्चको अनुपातमा पुँजीगत खर्च हुन नसक्नु राजनैतिक अस्थिरता, उधोगहरूको उत्पादन छमता ७० प्रतिशत सम्म घटनु, पुँजी बजार घटनु, उपभोक्ताको क्रय शक्ति घटनु, आर्थिक परनिर्भरता बढदै जानु, कृषि उत्पादन घटदै जानु घर जग्गा कारोवारमा गिरावट, शेयर बजार घटनु, मागमा संकुचन, विप्रषण घटनु, अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा भएको भारी बृद्धि, शत प्रतिशत नगद मार्जिनले व्यवसायले गर्दा लागतको मुल्यमा बृद्वि हुनु, उत्पादनले बजार नपाउनु, ज्याला महँगो हुदै जाने हुँदा कृषिको लागत सगै किसानको उत्साह घटनु, सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ताको व्यभार बार्षिक रूपमा १०० अर्ब भन्दा बढि रकम खर्च आवश्यक पर्नु ।
नेपालको बजेटको आकार ठुलो बनाएर प्रिय बन्न खोज्ने प्रवत्तिले गर्दा बजेटको कार्यान्वयन पक्ष ९ महिनामा ४८ प्रतिशत मात्र खर्च हुँदा बाँकी ३ महिनामा ५२ प्रतिशत खर्च हुने अवस्था देखिन्न भने हाल सम्म साधारण खर्च ६ खर्ब ७६ अर्ब ३२ करोड भएको छ भने पुँजौंगत बजेट ३ खर्ब ८० अर्ब ३८ करोडमा हाल सम्म ९९ अर्ब ४३ करोड मात्र भएको छ ।जुन ९ महिनामा एक तिहाई खर्च समेत हुन नसक्नु, आव को लागि सरकारले १४ खर्ब ३ अर्ब १४ करोड राजस्व उठाउने लक्ष्य लिएकोमा ९ महिना पुरा लाग्दा ६ खर्ब ३४ अर्ब २३ करोड मात्र संकलन भएको जुन लक्ष्यको ४५ प्रतिशत हाराहारीमा मात्रै हो जसले साधारण खर्च गर्न सार्वजनिक ऋण उठाउनु पर्ने अवस्था आउने तथ्यले बताँउछन् ।
सम्रग आन्तरिक तथा बाहय आर्थिक सुचांक कमजोर हुदै जानु आदि आर्थिक मन्दीका कारक तत्व मान्न सकिन्छ । यिनै कारणले नेपालको वित्तीय क्षेत्रमा पछिल्लो समय बैंक, लघुवित्त, सहकारी क्षेत्रमा देखिएका आर्थिक मन्दीका कारणहरूको चर्चा निम्न अनुसार रहेका छन् ।
१. बैकिंग क्षेत्रः
नेपालको वित्तीय उदारिकण सगै विकास र विस्तार भएको क्षेत्रको रूपमा बैकिंग क्षेत्रलाई लिइन्छ । जुन नेपाली अर्थतन्त्रमा यस क्षेत्रले सवै भन्दा ठुलो हिस्सा ओगटेको छ । नेपालमा करिव १२० भन्दा बढि संख्या बैकिंग च्यानलमा जोडिएर सञ्चालन भएका यस क्षेत्र हुदा हुदै पनि नेपालमा बैकिंग क्षेत्रमा आर्थिक संकट पो आएको हो की भन्ने बहस हुन थालेको छ । आज हरेक क्षेत्रको विकासका पछाडी बैंक तथा वित्तीय संस्थाकै देन रहेको छ । आज हजारौ मेगावट जलविधुत परियोजनाहरूको निमार्ण विदेशी ऋण बिना सम्भव भएको छ ।
यसै गरी होटल व्यवसाय, पर्यटन, यातायात,कृषि,उधोग, व्यापार, शिक्षा, स्वास्थ्य, पूर्वाधार आदि क्षेत्रमा लगानी गरेको क्षेत्र आज किन आर्थिक संकटको समस्यामा गए भन्ने गहन प्रश्न तेर्सिएको छ । यिनै वित्तीय क्षेत्र कुनै समय सवैका सारथी हुँदा कोभिडको समयमा समेत मौद्रिक नीति मार्फत दिएका सुविधा, छुट आदि विभिन्न व्याकेज दिएर समेत होला समग्र बैंकिग क्षेत्रको त्यस्तो समयमा समेत नाफा भएको देखिन्छ । कर्जाको मुख्य स्रोत नै निक्षेप रहेको हुँदा समयमा कर्जाको किस्ता व्याज तिर्नको लागि मौखिक तथा लिखित रूपमा ताकेता बैंकले बैंकिग ऐन, विनयममा नै टेकेर शर्त बमोजिम गरिएको होला तर आज किन बैकिंग क्षेत्र प्रति कर्जा नतिर्ने उद्घोष र तिर्नेलाई खवदारी गर्नु, समुह बनाएर आन्दोलन गर्नु, अनावश्यक अर्नगल आक्षेप, कर्मचारी माथि सांकेतिक डर, त्रास, दुव्र्यवहार गर्नु आदिले गर्दा बैकिग क्षेत्र प्रतिको समस्या उदारिएको छ । हाल बैंकको नाफा घटनु, तरलताको समस्या, माग गरिए अनुसार कर्जा वितरण नहनु, कर्जा चक्रमा खलबल हुँदा खराव कर्जा बढनु, जुन अघिल्लो आवमा ९ हजार पाँच सय ५० ऋणी कालोसुचीमा रहदा हाल फागुन मसान्त सम्म आउदा २२ हजार १८१ ऋणी कालो सुचीमा पर्नु यि यावत तथ्यले पनि बैकिङ्ग क्षेत्रको खस्कदो अवस्था देखाउदछ । सवै भन्दा ठुलो हिस्सा बैकिंग क्षेत्रको रहेको हुँदा यस क्षेत्रमा समस्या आउदा आज घर जग्गा कारोवारमा समेत मन्दी आउनुले पनि वित्तीय क्षेत्रमा बढदै गएको वित्तीय अस्थिरताको संकेत गर्दछ । बैकिंग क्षेत्रमा आएको मन्दीको कारण निम्न अनुसार रहेका छन्ः
–कोभिड अर्थतन्त्रका कारण थलिएको अर्थव्यवस्था
–बैकिगं क्षेत्रमा आएको तरलता समबन्धी समस्या सगै अस्वस्थ प्रतिस्पर्धा बढनु
–अनुत्पादक क्षेत्रमा गरिएको लगानी सगै खराव कर्जाको अनुपात बढदो
–निष्कृय कर्जा औषत अघिल्लो वर्ष १.३१ प्रतिशत रहेको हाल सम्म २६३ प्रतिशत पुगेको छ ।
–निक्षेपकको व्याजदर सगै कर्जाको व्याजदर उच्च रहनु आधर दर नै १०.७२ प्रतिशत हुनु र पुर्नकर्जाको दुरूपयोग बढनु
–लक्षित बर्गमा भन्दा सिमित व्यक्तिको हातमा कर्जा प्रवाह बढनु
–नियमनकारी निकायको भूमिका आवश्यकता अनुसार मौद्रिक नीति बन्न नसक्नु
–माग अनुसार कर्जा प्रवाह नहुदा अन्य क्षेत्रमा शिथिलता आउनु
–वित्तीय साक्षरतामा कमि, आकसिदो मुद्रास्फती
–मौद्रक र वित्तीय निति बिच तालमेल हुन नसक्नु
२. सहकारी क्षेत्र ः
नेपालले लिएको तिन खम्बे अर्थ नीतिमा सहकारी क्षेत्रलाई एउटा खम्बाको रूपमा लिईएको छ । सहकारी संस्थाहरूले उपलब्ध स्थानिय श्रोत र साधनको उपयोग गर्दै आर्थिक र सामाजिक माध्यमबाट मानिसहरूको हैसियत अनुसार बचत गर्ने बानीको विकास गर्दे शेयर सदस्यलाई आवश्यकता अनुसार कर्जा प्रवाह गरी आय आर्जनका कार्यक्रम मार्फत लक्षित बर्गको जिवनस्तर उकास्नका लागि एकका लागि सवै र सवैका लागि एक हौ भन्ने अभियानको साथ सहकारी सिदान्त र मुल्य मान्यतामा आधारित भई सञ्चालित भएको गैर बैकिङ क्षेत्र हो । नेपालमा ४० हजार भन्दा बढि सहकारी संस्था रहेको क्षेत्रमा ७३ लाख सदस्य, ९० हजार प्रत्यक्ष रोजगारी दिएको यस क्षेत्र पछिल्लो समय निक्षेपकर्ताले आफुलाई आफनो आवश्यकता अनुरूप रकम लिन जादा मागे अनुसारको रकम नपाउनु, माग गरिए अनुसार सहकारीको नियम अनुसार कर्जा प्राप्त गर्न नसक्नु, केही सहकारी बन्द हुनु, सञ्चालक व्यक्तिहरू फरार हुनु र सहकारी संस्थामा जनमानसको विश्वास गुम्दै जानु सहकारी संस्थामा पनि आर्थिक संकटको अवस्था क्रमश बढ्दै गएको मानिन्छ । हाल ७ अर्व बराबरको पैसा सहकारी संस्थाहरूले सहभागीहरूको निक्षेप रकम दिन सकेको छैन भन्ने तथ्य आएको छ । यसो हुनका पछाडी यसका केही प्रमुख कारणहरू रहकेका छन ः
–सहकारी संस्थाहरूको नियमन र सुपरिपेक्षण संरचना प्रभावकारी बन्न नसक्नु
–सञ्चालक समिति,व्यवस्थापन तहमा सिमित मानिसहरूको दवदवा सगै धेरै व्यक्तिमुखि र परिवारमुखि हुनु
–खराव कर्जा बढनु
–लगानी व्यवस्थापन अत्यान्तै फितलो हुनु बढि घर जग्गामा नै केन्द्रित रहनु
–सहकारी सिदान्त र मूल्य मान्यता विपरित उन्मुख बन्दै जानु
–बैंक तथा वित्तीय संस्थाको उच्च व्याजदरको कारण कर्जा लागत नै उच्च रहनु
–लेखा परिक्षण प्रणाली र आन्तरिक लेखा परिक्षणलाई प्रभावकारी र सुर्दण गर्न नसक्नु
–उच्च ऋणको माग र तरलताको समस्या सगै सरकारी लगानीमा दवाव आउनु
–अनुत्पादक क्षेत्रको लगानी सगै नाफामुखि व्यवसायमा केन्द्रित रहनु
–आर्थिक तथा वित्तीय अनुसासनका घटना धेरै हुँदा निक्षेपकर्ताको निक्षेपमा समस्या आउनु
–कृषि र उत्पादनमा आधारित सहकारी संस्था बन्न नसक्नु
३. लघुवित्त संस्थाहरु :
नेपालको सामाजिक तथा वित्तीय क्षेत्रमा हिजो आज लघुवित्तको निकै चर्चा परिर्चचा हुने गरेको छ । नेपालको ग्रामिण तथा पछाडिएको बर्गका मानिसहरूलाई रोजगारीका अवसर सृजना गर्दै आय आर्जनको माध्यमबाट जिवनस्तर उकास्दै जिवन यापनमा सहज गर्दै गरिवी निवारण महिला सशक्तिकरण र वित्तीय पहँच पुरÞ्याउने प्रमुख उदेश्यका साथ स्थापित भएका हुन्छन । नेपालमा ४२ प्रतिशत जनसंख्या गरिविको रेखामुनी अझै पनि रहेको हुँदा नवौ योजनाले गरिवीलाई न्यूनिकरण गर्नका लागि सरकारले लघुवित्त कार्यक्रमलाई अघि सारेको थियो । नेपालमा ६५ वटा लघुवित्त संस्थाहरू बाट वित्तीय सेवा निम्न र लक्षित बर्गलाई विशेषत ग्रामिण क्षेत्रमा सेवा प्रदान गरि रहेका छन यधपी वित्तीय पहुच बढाउने लघुवित्तको अभिभारा बोकेर अघि बढिरहदा विधमान समयमा आज लघु वित्तीय संस्थाहरूमा माथि नै दवाव र अराजक गतिविधी बढदै गएको छ भने लघुवित्तमा देखिएको समस्याका सम्वन्धमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा यिनै विषयले भरिएका छन । जँहा काम गर्ने कर्मचारीहरूमा असुरक्षा बढदै गईरहेका छ वित्तीय अनुसासनका नियमहरू भंग हुदै गईरहेका छन, जन मानसमा लघुवित्तको विश्वास घटदै जानुले पनि लघुवित्तमा भएको विकृतीलाई उजार गर्दछ । लघुवित्त संस्थाहरूले आफनो सामाजिक पाटोलाई भुलदै जाँदा र बढि नाफाको उदेश्यमा परिचालित हुदा, कर्जा सुचनाको अभावले गर्दा एउटै व्यक्तिले धेरै संस्थाबाट कर्जा प्रवाह लिने, लिएको कर्जा भुक्तानीमा समयमा नहुनु, अनावश्यक प्रयोजनमा कर्जा प्रवाह गरिदा खराव कर्जा बढदै जानुले पनि लघुवित्त संस्थाहरूमा संकटको बाटो तर्फ उन्मुख हुदै गईरहेका छन । आज समाजमा निम्न वर्गको जीवनस्तर उकास्नका लागि र वित्तीय पँहुच पुयाउने उदेश्य बाट खोलिएका संस्थामा वित्तीय समस्याहरू बढदै गएका छन । नेपालमा लघुवित्तमा करिव ६० लाख नागरिक लाई बैंकिङ्ग पहुँचमा समेटी १ खर्व ६४ अर्व ५९ लाख मानिसलाई सदस्य बनाई ३३ लाख सदस्यलाई कर्जा प्रवाह गरी व्यवसाय उधमका सारथी बनेको यस क्षेत्रमा हाल देखिएको वित्तीय समस्याका प्रमुख कारणहरू देहाय बमोजिम रहेका छन् :
–राष्ट्र बैंकले लिएको उदार इजाजत नीतिका कारण छोटो समयमा आवश्यकता भन्दा बढि लघुवित्त संस्थाहरूको स्थापना
–नियमनकारी निकायको प्रभावकारीता हुन नसक्दा वित्तीय सुसासनको उलंग्न हुनु
–कर्जा सुचना केन्द्र सग आवदता गर्न नसक्दा एउटै सदस्यले एकल कर्जाको सिमा भन्दा बढि कर्जा प्रवाह हुनु
–विना धितोमा कर्जा प्रवाह हुनु
–सेवामुखि भन्दा पनि नाफामुखि बन्दै जानु
–अनावश्यक अनुउत्पादन क्षेत्रमा कर्जाको प्रवाह भई खराव कर्जा ६५ प्रतिशत बढनु
–आन्तरिक लेखा प्रणाली व्यवस्थित र प्रभावकारी नहुदा समस्या
–वित्तीय साक्षरताको कमि हुदा कर्जाको गुणस्तरमा गिरावट
–बैकिगं क्षेत्रमा आएको तरलता सगै कर्जाको व्याजदर उच्च हुनु
–आवश्यकता अनुसार वित्तीय संरचनामा ध्यान दिन नसक्नु
–लघुवित्तीय संस्थाको र्मम र सिदान्तमा चल्न नसक्नु
४. पुँजी बजार :
विश्व अर्थतन्त्रमा आएको मन्दी सगै नेपालको पुँजी बजार प्रभावित भएको छ । नेपालको पुँजी बजारको विकास सगै लगानीकर्ताहरूको हित संररक्षण गर्न, निस्काशन, खरिद विक्री, वितरण तथा विनियमलाई व्यवस्थित बनाई धितोपत्र बजार र यस व्यवसायमा संग्लन व्यक्तिहरूको काम कारवाहीलाई व्यवस्थित तथा नियमित गर्ने उदेश्यका साथ नियामकको भुमिका रहेको हुन्छ । नेपालमा २४६ कम्पनीहरू नेप्सेमा सुचीकरण रहेका छन । नेपालको पुँजी बजार अन्तर्गत शेयर बजार ,डेरिभेटिभ्स बजार पर्दछन । जसले बैकिंग प्रणालीको अत्तिरिक्त पुँजी परिचालन गर्दै राज्यको आर्थिक क्षेत्रमा गतिशिलता प्रदान गर्दै बैकिगं प्रणालीमा परिपुरक भई आवश्यकता अनुसार लगानीको लागि सहज माध्यम बन्दै राज्यको आर्थिक बृद्धि र विकासमा महत्वपुर्ण योगदान रहेको हुन्छ । कोवड–१९को समय पछि नेपालको शेयर बजार ३२०० अंक पुग्दा १० अर्व भन्दा बढिको कारोबार भएको बजार पछिल्लो समय शेयर बजार १८०० को बिन्दु सम्म आउनु, औषत कारोबार २ अर्व सम्म नहुदा बजारमा आएको पहिरोले लाखौ लगानीकर्ताहरूले खर्वौ रकम शेयर बजारबाट गुमाएका छन यस नर्पला रहनु तथ्यलाई हेर्दा पनि नेपालको पुँजी बजारमा संकट यस तथ्यबाट आएको छ भनेर भनि शेयर बजारको नियम अनुसार बजार बढने र घटने नियम भएता पनि हाल पुँजी बजारमा आएको गिरावटले देशको अर्थतन्त्रमा धरासयी बन्दै गएको त होइन भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । हुनत बैकिंग क्षेत्र,लघुवित्त संस्था, सहकारी संस्थाहरूमा देखिएको आर्थिक समस्या आउनुका कारण नै पुँजी बजारको इन्डेक्स घटनुका कारण मानिन्छ । नेपालको पुँजी बजारको अवस्थाले राष्ट्रको अर्थतन्त्र इकिंत गर्ने हुँदा हालको बजारको ग्राफ क्रमश घटदै आउनुले पनि पुँजी बजारमा समेत संकट रहेको छ भन्ने कुरामा दुई मत नहोला यसो हुनका कारणहरू निम्न छन ः
–तरलताको समस्याले गर्दा माग अनुसारको सहज कर्जा उपलब्ध नहुनु
–व्याजदर उच्च रहदा लगानीकर्ता शेयर बजार भन्दा अन्य लगानीका अवसर तिर उन्मुख रहनु
–राजनैतिक अस्थिरतामा बारम्बार शेयर बजारमा प्रभावित पर्नु
–बैंक तथा लघुवित्त सहकारी संस्थामा आएको मन्दी र विकृती
–राष्ट्र बैंकले लघुवित्त संस्थाको सम्वन्धमा ल्याइएको नीति
–बैंकको व्याजदरमा बृद्धि र सुनको मूल्यका आएको उच्च दर
–नियमनकारी निकायको प्रभावकारी सुपरिवेक्षण तथा अनुगमन क्षमता नहुनु
–वित्तीय साक्षरताको कमि सगै पुर्ण रूपमा बजारलाई डिजिटल बेसमा सञ्चालन गर्न
–बाहय बैदेशिक रोजगारमा गएको जनशक्तिलाई आवदता गराउन नसक्नु
–इन्साइडर कारोबारको गलत र अस्वस्थ्य अभ्यास
–डेरिभेटिभ्स बजारको थप विकास हुन नसक्नु
–बजारको संरचना सगै बजार विकासका पूर्वाधार बन्न नसक्नु
–सुचीकृत कम्पनीको विविधिकरण थप गर्न नसक्नु
–लगानीकर्ताहरूको बजार प्रतिको मनोबैज्ञानिक विश्वास घटनु
५. बीमा क्षेत्र :
बीमा सामान्यता भविष्यमा आइपर्ने जोखिम बिरूद गरिने आर्थिक र सामाजिक सुरक्षा हो । मानिसको दैनिक जिवनमा विभिन्न प्रकारका जोखिमहरू रहेका हुन्छन जस्तै व्यक्तिको जिवन, सम्पती ज्ञ, रोजगारी, स्वास्थ्य, व्यवसाय दायित्व आदिको सुरक्षाको लागी गरिने विभिन्न संयन्त्र मध्ये बीमा एक महत्वपुर्ण सयन्त्रको रूपमा रहेको हुन्छ । अन्य क्षेत्रको रक्षावरणको रूपमा रहेको वित्तीय क्षेत्र भनेको बीमा व्यवसाय हो । जसले अरूको जोखिम स्वीकार गरी अन्य क्षेत्रलाई सुरक्षा प्रदान गर्दछ अन्य वित्तीय क्षेत्र भन्दा पृथक विशेषता रहेको हुन्छ । जुन अरू जस्तो सजिलै आफुले जुन सुकै समयमा आवश्यकता अनुसार खरिद गर्न पाइन्न जसका आफनै नियम र सिदान्त रहेको हुन्छ जुन बीमक र बीमीतका विचमा कानुनी करारमा निर्देशित हुन्छ । बिशेष गरी सहकारीताको सिदान्तमा आधारित हुन्छ जसमा धेरैको योगदानबाट दावीको क्षति थोरैलाई भुक्तानी गर्ने गरिन्छ । नेपालमा बीमा व्यवसाय जीवन, निर्जीवन र पुर्नबीमा गरी ३ प्रकारमा विभाजन गरिएको छ । नेपालमा १७ जिवन बीमा,१६ निर्जिवन कम्पनी र २ पुर्नबीमा कम्पनी र एक नियामक निकायको रूपमा रहेको यस बीमा क्षेत्रमा हाल बीमा क्षेत्रमा समेत आर्थिक मन्दी देखिएको छ । नेपालको आर्थिक अवस्थामा नै अस्थिरता आईरहदा मानिसहरूले आफनो बचत रकम लाई दैनिक जिविका चलाउनको लागि खर्च गर्ने गर्दछन ्र जसले गर्दा बीमा प्राथमिकता क्रममा नपरने हुँदा बीमा व्यवसायमा ह्रास पछिल्लो समय आएको पाइन्छ । बैंक तथा वित्तीय संस्था हरूमा कर्जा प्रवाह रोकिदा,एलसी कारोवारको प्रक्रियामा परिर्वतन गरिदा निर्जीवन बीमा व्यवसायमा कमि आएको छ । बीमा अनिवार्य र बाध्यात्मक परिस्थितिमा मात्र गर्ने अवस्थामा बीमीतहरू पुगेको पाइन्छ । विधमान वित्तीय प्रणालीमा आएको समस्याले गर्दा समग्र बीमा बजारमा समेत मन्दी आउन थालेको छ । नेपालमा अझ कोविड बीमाको दावी भुक्तानी हुन नसक्नु र नेपाल सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमालाई व्यस्थित र प्रभावकारी ढगंबाट सञ्चालन प्रवाह हुन नसक्दा बीमीतको विश्वास बीमा प्रति घटदै जानुले पनि बीमा व्यवासयको बजार घटेको छ । नेपालको बीमा व्यवसायमा मन्दी आउनुका कारणहरू देहाय अनुसार रहेका छन :
–बैंक तथा वित्तीय संस्थामा भएको तरलताको समस्या
–व्यापार व्यवसाय ठप्प हुदा बीमीतले तिर्ने बीमा शुल्कको बाटो नै बन्द भएको छ ।
–बीमा शुल्क तिर्न नसक्दा चालु आव को ८ महिनामा ९ अर्व बराबरको पोलिसी सरेन्डरको बाटो रोज्नु
–बचतको धेरै हिस्सा आफनो जिविका चलाउनको लागि उपभोगमा खर्च गरिनु
–बैकको कर्जा प्रवाह रोकिनु
–कोविड बीमा दावी बापतको रकम भुक्तानी नहनु
–अस्वस्थ्य प्रतिस्पर्धा बढनु, बीमा आवश्यकता अनुसार संरचना निमार्ण हुन नसक्नु
–नियामक निकायको नियमनकारी र सुपरिवेक्षण छमतामा कमि
–आर्थिक अवस्था अनुसारको बीमा पोलिसीहरू बनाउन नसक्नु –बीमा अनिवार्य भए मात्र गर्ने परिपाटिको विकास बन्नु
–संस्थागत सुसासनको कमि हुनु
–दावी भुक्तानीमा भएको समस्याले जनमानसमा दुविधा आउनु
–भविष्यमा बीमाबाट दिने प्रतिफल भन्दा अन्य धेरै सुविधा दिने आर्थिक योजनाहरू बाट बीमीत प्रभावित हुनु
–उधोग धन्दाको उत्पादन तथा सञ्चालनमा ह्रास आए पछि बीमा प्रिमियमामा संकलनमा कमि
बीमा क्षेत्रले नेपालको वित्तीय संकट समाधानका लागि यस क्षेत्रले निभाउन सक्ने भुमिकाहरू
–बैंक तथ वित्तीय संस्थाहरू दारा प्रवाह हुने कर्जाको अनिवार्य बीमा गराउने
–सरकारले अनुदान सहयोग सुविधा भन्दा पनि बीमा योजना मार्फत आम नागरिकलाई जोडन सके सरकारको व्यभारमा कमि पर्न हुने थियो ।
–लिक्षित विपन्न बर्ग, क्षेत्रलाई लघु बीमा मार्फत सुरक्षित गरेरे
–सार्वजनिक सेवा सगै बीमालाई जोडन सकमो जस्तै घरको नक्सा पास गर्दा नै घरको बीमा गराउने जस्ता कार्य गर्नु पर्ने
–बीमीतलाई सरेन्डर गर्नु भन्दा धितोमा राखेर कर्जाको स्वरूप र दरमा सहुलियत दिई कर्जाको विकल्प बीमीतलाई दिएर
–वित्तीय साक्षरता बढाउदै स्थानिय तह सम्म बीमाको कार्यक्रम गरेर
–बीमा बजारका सेवाहरूलाई डिजिटलाइजेसन प्रणाली मार्फत एकिकृत गरेर
–बीमाका अन्तराष्ट्रिय अभ्यास प्रचलन अनुसार बीमा पोलिसी तयार गरेर
–लघुविमा, कृषि बीमा लाई व्यवस्थित गर्दै बीमाको क्षेत्र फराकिलो बनाई
–सरकारी सम्पत्तिहरूको बीमा गराउने परिपाटीको विकास गरी
–हरेक व्यवसायीक कृयाकलापहरूलाई बीमा सँग आवदता गराई
–आर्थिक अवस्था अनुसार बीमालेख तयार गरी आवश्यकता अनुसार छुट सुविधा दिने योजनाहरू तयार गरेर
–संस्थागत सुसासनलाई व्यवस्थित गराउदै कर्जा सुचना केन्द्रको स्थपना गरी कर्जा प्रवाहलाई व्यवस्थित गरी
–संकलित प्रिमियमलाई बैंकको मुदतीमा मात्र समित नगरी लगानी विविधिकरणमा जोड गरी
–सवै बीमा कम्पनीहरूको बीमा लेख समान प्रकृतीको हुँदा समय अनुसारका बीमा योजनाहरूको प्रवर्दन गरी
–बीमाको दावी भुक्तानी र नेपाल सरकार मार्फत अनुदानमा गरिएको बीमाको भुक्तानी समयमा गराएमा तरलतामा थप टेवा पुग्ने
–जिवन बीमा पोलिसीमा ग्रेस पिरियड थप गरी रिवेट सुविधा दिएर
–निर्जिवन बीमीतलाई कोभिडको समय जस्तै विभिन्न प्याकेज दिएर
–छमताको आधारमा बीमा गराउने अभ्यासको विकास गरी
–कृषि बीमामा दावी र क्षतिपुर्तीको सुनिश्चित गर्दै कृषि क्षेत्रलाई सुरक्षित गराई
निश्कर्ष :
नेपालमा धेरै समय पछि हाल देखिएको वित्तीय समस्याले नेपालको वित्तीय प्रणालीमा संकट जन्माएको छ । जसमा केही बाहय विश्व अर्थतन्त्रका प्रभावका बाछिटाहरू हुन भने केही हाम्रा आफनै आन्तरिक कारणले गर्दा वित्तीय समस्या देखिएका छन । विशेषत नेपालको राजनैतिक प्रणालीलाई पनि दोष लगाउन सकिन्छ । नेपालमा गणतन्त्र आउदा सम्म १५ वर्षमा १७ वटा सरकार परिवर्तन सगै ११ अर्थमन्त्री हेरफेर हुनु जस्ता तथ्यले आफै पुष्टि गर्दछ । भने विकसित राष्ट्रमा सरकार परिर्वतन भए पनि जुनसुकै दलको सरकार बने पनि राम्रो कामले सधै निरन्तरता पाउदछ भने नेपालमा यस प्रकारको वातवरण बन्न नसक्नु पनि आर्थिक अस्थिरताको कारण मान्न सकिन्छ । कोविडको समयमा समेत राम्रो भएको अर्थतन्त्र किन पछिल्लो समय प्रभावित बन्यो भन्ने प्रश्नको उत्तर खोजी गर्नु पर्ने समय आएको छ । मन्दीलाई व्यापार चक्रको रूपमा हेरिन्छ यथपी मौद्रिक तथा वित्तीय क्षेत्रको सन्तुलन बिग्रदा देशमा मन्दीको अवस्था सृजना हुन्छ ।
हाल आएको वित्तीय संकटको तरगं अमेरिकी राष्ट्र हुदै यरोप एशियाका धेरै देश हरू यसको चपेटा परिरहदा नेपालको वित्तीय प्रणालीमा पनि संकट आएको छ । जसको समाधान गर्ने दायित्व हामी सवैको हुन जान्छ । सरकार राजनैतिक जोड घटाउमा मात्र केन्द्रित हुनु भन्दा अवको मौद्रिक र वित्तीय नितिलाई सन्तुलन कायम गर्दै देशमा रोजगारीका अवसर सृजना गर्दै, आन्तरिक उत्पादन बढाउदै, उधोग धन्दा व्यापार व्यवसाय र उधमशिलताको प्रर्वदन गर्दै, आयतमुखि भन्दा पनि उत्पादन र निर्यातमुखी अर्थतन्त्रका पूर्वाधार निमार्ण गर्दै बैंक तथ वितिय संस्थाहररूको भौतिक शाखा विस्तार भन्दा डिजिटल प्रविधिको प्रयोग गरी शाखा रहित बैकिगं पहुचको सेवा पुराउन कर्जा लागतलाई घटाउने, कर्जा प्रवाहको प्रवति र प्रकतिमा आमुल परिर्वतन ल्याउने, कर्जा सुचनालाई व्यवीस्थत बनाउने वित्तीय साक्षरताको प्रवर्दनमा जोड दिने, वित्तीय अनुसासन विपरित कार्य गर्ने व्यक्ति समुहलाई कारवाही नहुने हो भने सवै क्षेत्रमा प्रभावित हुने हुँदा जसले वित्तीय अस्थिरता जन्माउदछ । यधपी समयमा नै यसको समाधानका उपयाहरू खोजी गरिनु पर्दछ नत्र भने यसले नेपालको अर्थतन्त्रमा रहेको इको सिस्टमको चेन व्रिगन गई छाँया अर्थतन्त्रले अध्यारो तर्फ धकेल्दछ । यदि सरकार र सम्वद्ध सरोकारवाला पक्ष सग सहकार्य र आवश्यक गृहकार्य गरिएन भने नेपालको अर्थतन्त्रमा आर्थिक संकटको गहिराई झन नबढ्ला भन्न सकिन्न ।
नेपाल धितोपत्र बोर्डको ३१ औ बार्षिकोत्सवको लेख बिशेषङ्कबाट साभार गरिएको











