सुदूरपश्चिमका चार पालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१३ बैशाख २०८३, आईतवार १०:४६

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी, कैलालीको आयोजनामा दार्चुला र बैतडी जिल्लाका विभिन्न स्थानीय तहमा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएका छन्। कार्यक्रममा स्थानीय स्तरमा बीमाको वर्तमान अवस्था, देखिएका समस्या तथा तिनका समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो।

दार्चुला जिल्लाको व्यास गाउँपालिकाको सुनसेरा, दुहु गाउँपालिकाको हिकिला र लेकम गाउँपालिकाका रातामाटामा क्रमशः २०८३ साल बैसाख ७, ८ र ९ गते कार्यक्रम आयोजना गरिएको थियो भने बैतडी जिल्लाको डिलासैनी गाउँपालिका (डिलासैनी) मा वैशाख १० गते कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बीमा कम्पनीका प्रतिनिधि, सरोकारवाला निकायका पदाधिकारी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले ग्रामीण क्षेत्रमा बीमा सेवाको पहुँच अझै सीमित रहेको, जनचेतनाको अभाव तथा बीमा प्रक्रियाप्रति स्पष्ट जानकारी नहुँदा अपेक्षित सहभागिता हुन नसकेको जस्ता विषय उठाएका थिए।

छलफलका क्रममा बीमा सेवालाई सरल, सहज र पहुँचयोग्य बनाउने, स्थानीय स्तरमै बीमा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने, दावी भुक्तानी प्रक्रियालाई छिटो र पारदर्शी बनाउने तथा कृषक, मजदुर र विपन्न वर्गलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइएको थियो।

नेपाल बीमा प्राधिकरणका प्रतिनिधिहरूले उठेका समस्याहरूलाई सम्बोधन गर्दै आगामी दिनमा नीति सुधार, जनचेतनामूलक कार्यक्रम विस्तार तथा स्थानीय तहसँग सहकार्य गरेर बीमा क्षेत्रलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै यस्ता अन्तरक्रिया कार्यक्रमले स्थानीय तहमा बीमाप्रति विश्वास बढाउन र दीर्घकालीन जोखिम व्यवस्थापनमा सहयोग पुग्ने प्राधिकरणले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*