८ महिनामा जीवन बीमा शुल्क खर्ब नजिक, २२ अर्बसहित नेपाल लाइफ पहिलो अन्यको अवस्था कस्तो ?

११ चैत्र २०७७, बुधबार १७:२४

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ८ महिनामा झण्डै एक खर्ब रुपैयाँ बीमा शुल्क संकलन भएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत फागुन महिनासम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले कूल ८२ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । सो अवधीसम्ममा कूल ८१ लाख ८७ हजार ९ सय ६८ वटा बीमा पोलिसी कायम रहेका छन् ।

बीमा शुल्क आर्जनको आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो बनेको छ । सो कम्पनीले चालु आवको ८ महिनामा कूल २२ अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

बीमा शुल्क संकलनको आधारमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) दोस्रो स्थानमा रहेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा बीमा शुल्कको योगदान आदिका आधारमा मात्रै विश्लेषण गर्न सकिन्छ । एलआईसी नेपालले फागुन मसान्त सम्ममा १० अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

बीमा शुल्क आर्जनकै आधारमा तेस्रो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ । सो कम्पनीले यस अवधिसम्म सात अर्ब ८३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । त्यस्तै, राष्ट्रिय बीमा संस्थानले छ अर्ब ५२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । आठ महिनाको अधवीमा नयाँ यूनियन लाइफले अन्य पुराना कम्पनीहरुलाई उछिन्दै चार अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । नयाँ कम्पनी मध्ये युनियन लाइफ बीमा शुल्क आर्जनमा अब्बल देखिएको छ । समीक्षा अवधीमा एशियन लाइफले चार अर्ब चार करोड रुपैयाँ, मेट लाइफले तीन अर्ब ५१ करोड रुपैयाँ, सूर्या लाइफले दुई अर्ब ९६ करोड रुपैयाँ, प्राइम लाइफले दुई अर्ब ७५ करोड रुपैयाँ, गुँरास लाइफले दुई अर्ब ६८ करोड रुपैयाँ र सिटिजन लाइफले दुई अर्ब ७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, ज्योति लाइफले एक अर्ब ९९ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले एक अर्ब ८५ करोड रुपैयाँ, रिलायन्स लाइफले एक अर्ब ७४ करोड रुपैयाँ, आइएमई लाइफले एक अर्ब ६१ करोड रुपैयाँ, सन नेपाल लाइफको एक अर्ब ४१ करोड रुपैयाँ, सानिमा लाइफले एक अर्ब २६ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका छन् । साथै प्रभु लाइफले ८९ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ६८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्दै सूचांकको अन्तिममा रहन सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*