सन नेपाल लाइफले बीमा व्यवसायमा मार्यो छलाङ, बीमा शुल्क ८२% ले बढ्दा जीवन बीमा कोष दुई अर्ब माथि

३० बैशाख २०७८, बिहीबार १५:१४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा छलाङ मारेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । सो कम्पनीको वित्तीय विवरण अनुसार खुद बीमा शुल्क आम्दानी ८२.१८ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षमा ७० करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा एक अर्ब ४४ करोड १० लाख ८७ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

कम्पनीको जीवन बीमा कोष ९५.५९ प्रतिशतले बृद्धि भएको छ । गत आवको तुलनामा झण्डै शतप्रतिशत जीवन बीमा कोष बृद्धि गर्दै दुई अर्ब १८ करोड ३१ लाख ५३ हजार पुर्याएको छ । गत आवमा कम्पनीको बीमा कोषमा एक अर्ब ११ करोड ६२ लाख रुपैयाँ थियो । कम्पनीको समग्र कोषको आकार दुई अर्ब ५५ करोडभन्दा बढि छ ।

कम्पनीको व्यवस्थापन खर्च २३.९७ प्रतिशतले बढेर २४ करोड ४० लाख २९ हजार रुपैया छ । कम्पनीले लगानी, कर्जा तथा अन्यबाट आय रकम १९ करोड ५६ लाख १९ हजार रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा यस्तो आय ३०.७० प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीले अभिकर्ताहरुलाई कमिशन बापत २५ करोड ५६ लाख ३७ हजार रुपैयाँ वितरण गरेको छ । अघिल्लो वर्ष कम्पनीले १५ करोड १४ लाख रुपैयाँ वितरण गरेकोमा यस आवको समीक्षा अवधीमा ६८.८१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

कम्पनीको खुद नाफा नौ करोड ५५ लाख ९७ हजार रुपैयाँ छ । अघिल्लो आवको तुलनामा कम्पनीको मुनाफा ३०.२५ प्रतिशतले बृद्धि भएको छ । गत आवमा कम्पनीको खुद मुनाफा सात करोड ३३ लाख ९७ हजार रुपैयाँ थियो ।
कम्पनीको बीमा पोलिसी संख्या १३५ प्रतिशतले बृद्धि भएको छ । गत आवमा ४८ हजार ५३८ वटा बीमा पोलिसी रहेकोमा यस आवमा एक लाख १४ हजार ४८४ वटा बीमा पोलिसी कायम रहेको छ ।

आईपिओ निष्काशन गर्ने तयारीमा रहेको कम्पनीको मुनाफासहितका तथ्याङ्कहरु सकारात्मक देखिएका हुन् । २०७५४ साल असोज ६ गतेबाट औपचारिक कारोबार सुरु गरेको कम्पनीले आगामी आर्थिक वर्षमा आईपिओ निष्कान गर्न अनुमति पाउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*