युनियन लाइफलाई ६४ करोडको आईपिओ जारी गर्ने बाटो खुल्यो, कहिले आउँदैछ आईपिओ ?

११ जेष्ठ २०७८, मंगलवार १४:२३

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६४ करोड रुपैयाँको आईपिओ जारी गर्ने बाटो आजबाट खुलेको छ । आईपिओ जारी गर्न एक पूर्ण आर्थिक वर्षको वित्तीय विवरण साधारणसभाबाट पारित भएको हुनुपर्ने प्रावधानका कारण लामो समयदेखि रोएिको सो कम्पनीको आईपिओ आज साधारणसभा सम्पन्न भएसँगै बाटो खुल्ला भएको छ ।

कम्पनीको बीमाङ्कीय मूल्याङ्कन ढिलाई हुँदा लेखा परिक्षणमा ढिलाई भएको थियो । जसका कारण आव २०७५।०७६ को लेखापरिक्षण समेत तयार भएको थिएन । कम्पनीले केही पहिलो बीमाङ्कीय मूल्याङ्कन सम्पन्न गरी वित्तीय विवरण बीमा समितिबाट स्वीकृत गराएपछि आजको लागि साधारणसभा आह्वान गरेको थियो । आजको साधारणसभाबाट आव २०७५।०७६ को वित्तीय विवरणहरु पारित भएको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार एक पूर्ण आर्थिक वर्ष (साउन १ देखि असार ३१ सम्म) को वित्तीय विवरण सोही आर्थिक वर्षको साधारणसभाबाट पारित भएपछि मात्रै आईपिओ जारी गर्न कुनै पनि कम्पनी योग्य हुने व्यवस्थाका कारण ढिलाई भएको हो । कम्पनीले २०७४ सालमा बीमा सेवा सुरु गरेपनि आव २०७५।०७६ को वित्तीय विवरण मात्रै कम्पनीको पहिलो पूर्ण आर्थिक वर्षको हुन पाएको हो ।

यससँगै अब कम्पनीको आईपिओ छिट्टै निष्काशन गर्ने तयारी भइरहेको जनाएको छ । सो कम्पनीका सूचना अधिकारी कपिल प्रसाद दाहालले अब आईपिओका लागि सबै प्रक्रिया पूरा गरेर छिट्टै जारी हुने बताए । यद्यपि जारी निषेधाज्ञा नहटेसम्म नेपाल धितोपत्र बोर्डले नयाँ आईपिओको अनुमति नदिने बताउँदै आएको छ । कम्पनीले जारी निषेधाज्ञा हट्ने वित्तिकै आईपिओ जारी गर्ने तयारी गरिएको बताए । जारी निषेधाज्ञा जेठ महिनाभित्र हटेमा असारको पहिलो साताबाटै आईपिओ निष्काशन गर्न सकिने गरी काम भइरहेको युनियन लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको अहिले कूल चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुने गरी शेयर संरचना तयार पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*