टिकटकबाट बीमा जनचेतना जगाउँदै रिलायन्स लाइफ र प्रभु लाइफ

डिजिटल माध्यमबाट लाखौं माँझ पुग्यो बीमा शिक्षा, नाच्दै गाउँदै रमाउँदै पुरस्कार जित्ने अवसर
११ जेष्ठ २०७८, मंगलवार १९:३५

काठमाडौं । कोरोना महामारीका कारण बीमित, बीमक कम्पनी तथा बीमा अभिकर्ताहरु घरभित्रै थुनिएको अवस्था छ । महामारी रोक्न सरकारले जारी गरेको निषेधाज्ञाको उपयोग गर्दै डिजिटल प्लेटफर्म टिकटकमार्फत बीमाको प्रचार गर्ने अभियानमा बीमा कर्मचारी तथा अभिकर्ताहरु सक्रिय सहभागी हुन थालेका छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल प्लेटफर्म टिकटकमा प्रतियोगिता आयोजना गरी बीमाको जनेचतना जगाउने अभियान चलाइरहेका छन् । दुई बीमा कम्पनीले चलाएको टिकटक अभियानमा सहभागी सयौं बीमा कर्मचारी तथा अभिकर्ताहरुमार्फत लाखौं सर्वसाधारणका माँझ बीमाको सन्देश पुग्न सफल भएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले यही जेठ ३ गतेबाट सुरु गरेको टिकटक प्रतियोगिता अभियान भोलि जेठ १२ गते बुद्ध जयन्तीको दिनमा समापन हुँदैछ । सो कम्पनीले टिकटक आईडी बनाएर उक्त आईडिलाई मेन्सन गरी सबैभन्दा बढि लाइक, शेयर तथा भ्युउ हुने टिकटक मध्ये पाँच वटा उत्कृष्टलाई विशेष पुरस्कार दिने कम्पनीले जनाएको छ । रिलायन्स लाइफको आधिकारिक टेलिभिजन विज्ञापनमा टिकटक तयार पारी आफ्नो आईडिमा पोष्ट गरी रिलायन्स लाइफको आईडीलाई मेन्सन गर्नुपर्नेछ ।

टिकटक मार्फत बीमा जनचेतना जगाउने अभियानमा सहभागी रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका ब्राण्डिङ विभागका अनुसार झण्डै दुई लाख मानिसका बीचमा टिकटक मार्फत अभियान पुगिसकेको छ ।

त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले प्रतियोगिताको रुपमा सञ्चालन गरेको टिकटक जनचेतनामूलक अभियानबाट डेढ लाखभन्दा बढि मानिसमा बीमा जनचेतना अभियान पुगेको कम्पनीले जनाएको छ ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालन गरेको टिकटक अभियान जेठ २० गतेसम्म लाइक, सेयर र तथा भ्युउ तथा छनौट समितिले गरेको मूल्याङुकनको आधारमा उत्कृष्ट घोषणा गरिने कम्पनीले जनाएको छ । सो कम्पनीले ‘प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा किन ?’ भन्ने शिर्षकमा टिकटक बनाउनु पर्ने जनाएको छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना गरेको टिकटक प्रतियोगितामा सहभागी उत्कृष्ट तीन जनालाई १० हजार, सात हजार ५०० र पाँच हजार रुपैयाँसहित पुरस्कृत गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यही जेठ १० गतेसम्म पोष्ट भएका टिकटक भिडियोलाई मात्रै पुरस्कृत गरिनेछ ।

दुवै कम्पनीले आफ्ना कर्मचारी तथा अभिकर्ताहरुको लागि मात्रै टिकटक प्रतियोगिता सञ्चालन गरेको हो । सो अभियानमा सयौं अभिकर्ता तथा कर्मचारीहरुले भाग लिएका छन् । साथै दुई कम्पनीका कर्मचारी तथा अभिकर्ताहरुले टिकटक जनचेतना अभियानबाट लाखौं जनताको बीचमा बीमा जनचेतना जगाउन सफल भएका छन् । प्रविधिमैत्री बीमाको प्रचार गर्ने नयाँ शैलीलाई अन्य कम्पनीहरु तथा बीमा अभिकर्ताहरुले समेत पछ्याउन थालेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*