नेपालको २३.४ प्रतिशत जनसंख्या बीमाको दायरामा

बीमाशुल्क आर्जनमा उल्लेखनीय सुधारः आर्थिक सर्वेक्षण
१४ जेष्ठ २०७८, शुक्रबार १८:३०

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा बीमाके पहुँच २३ दशमलव ४ प्रतिशतमा पुगेको छ । यद्यपि उक्त सरकारी तथ्याङ्कमा म्यादी बीमा र बैदेशिक रोजगार म्यादी बीमाको डुुप्लिकेशनबारे स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी छ ।

चालु आर्थिक बर्षको आठ महिना अर्थात २०७७ फागुन मसान्तसम्ममा करिब २३ दशमलव ४ प्रतिशत जनताको बीमामा पहुँच पुगेको अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा छ । बैदेशिक रोजगार र म्यादी जीवन बीमा समेत गणना गर्दा बीमामा करिव २६ प्रतिशत जनताको पहुँच पुगेको अनुमान सर्वेक्षणमा गरिएको छ ।

संघीय संरचना अनुसार बीमा कम्पनीहरुलाई शाखा स्थापना तथा विस्तार गर्न निर्देशन दिइएकोमा २०७७ फागुन मसान्तमा बीमाको शाखा संख्या जीवन बीमातर्फ एक हजार ९६९ र निर्जीवन बीमा तर्फ ९३६ गरी जम्मा दुई हजार ९०५ पुगेको छ । २०७७ फागुन मसान्तमा बागमती प्रदेशमा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा कम बीमकको संख्या रहेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा बीमाशुल्क आर्जन ५७ अर्ब ८९ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा एक खर्ब २० अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, चालु आर्थिक वर्षको फागुनसम्म एक खर्ब २ अर्ब ४० करोड बीमाा शुल्क संकलन भएको छ । जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको लगानी योग्य रकम क्रमश बृद्धि हुँदै गइरहेको सर्वेक्षणले देखाएको छ । आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तमा यस्तो रकम चार खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । जसम्मा जीवन र निर्जीवन बीमाको अंश क्रमश ८४ दशमलव ९ प्रतिशत र १५ दशमलव १ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*