रिलायबल नेपाल लाइफको आईपिओ ढिलाई हुने, प्रिमियम मूल्यमा शेयर जारी गर्न खोज्दा कानुनी अड्चन

९ असार २०७८, बुधबार १४:११

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्न लागेको आईपिओमा ढिलाई हुने भएको छ । कम्पनीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भइसकेको र तीन वर्षदेखि लगातार मुनाफामा रहेको भन्दै प्रिमियम मूल्यमा आईपिओ जारी गर्न खोजेकोमा प्राविधिक कारणले ढिलाई हुन लागेको हो । बीमा समितिको नियम अनुसार दुई अर्ब चुक्ता पुँजि पुर्याउनुपर्ने दबावमा रहेको कम्पनीको आईपिओमा ढिलाई भएसँगै पुँजि बृद्धि समेत प्रभावित हुने भएको छ ।

कम्पनीले प्रिमियम मूल्यमा शेयर जारी गर्न माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरिरहेको छ । तर, धितोपत्र बोर्डले भने तीन पूर्ण आर्थिक वर्षको वित्तीय विवरण चाहिने कानुनी व्यवस्थाको कारण रिलायबल नेपाल लाईफको आईपिओ ढिलाई हुने संकेत गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्राथमिक शेयर जारी गर्न योग्य भएपनि गत असार ४ गते सम्पन्न भएको साधारणसभाले शेयर प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रस्ताव पारित गरिसकेकोले अब थप ढिलाई हुने भएको हो ।

धितोपत्र सम्बन्धी कानुन अनुसार प्रिमियम मूल्यमा प्राथमिक शेयर जारी गर्न पछिल्लो तीन पूर्ण आर्थिक वर्ष (साउन १ देखि असार ३१) गतेसम्मको वित्तीय विवरणमा कम्पनी मुनाफामा देखिएको हुनुपर्ने नेपाल धितोपत्र बोर्डका प्रबक्ता तथा कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । कार्यकारी निर्देशक गिरीले तीन पूर्ण आर्थिक वर्षको वित्तीय विवरण चाहिने व्यवस्था रहेको बताउँदै कम्पनी विशेषको अवस्था फाइल आएपछि हेरेर भन्न सकिने बताए ।

२०७४ साल भदौं १५ गतेबाट जीवन बीमा सेवा सुरु गरेको कम्पनीको बीमा कारोबारको आधारमा आर्थिक वर्ष २०७४।०७५ समेत पूर्ण मान्न सकिने अवस्था छैन । आर्थिक वर्ष २०७५।०७६ मा पहिलो पूर्ण कारोबार गरेको कम्पनीले अब थप दुई वर्षको साधारणसभा सम्पन्न गरी पास भएको वित्तीय विवरण मात्रै धितोपत्र बोर्डले योग्य मान्ने हुँदा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपिओ अप्ठेरोमा पर्न पुगेको छ ।

त्यसो त, १०० रुपैयाँ अंकित प्राथमिक शेयर जारी गर्न पनि सोही व्यहोराको प्रस्ताव साधारणसभाबाट पारित गर्नुपर्ने हुन्छ । गत असार ४ गते सम्पन्न भएको साधारणभाले प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेकोले सो पातिर भएको प्रस्तावकै आधारमा आईपिओ जारी गर्न कानुनी अड्चन आउने हुँदा पुनः विशेष साधारणसभा वा साधारणसभा सम्पन्न गरेपछि मात्रै १०० रुपैयाँ अंकित आईपिओ जारी गर्न सम्भव हुने भएको छ भने शेयर मूल्यमा आईपिओ जारी गर्न चालु आवको असार मसान्तसम्मको वित्तीय विवरण साधारणसभाबाट पारित गरेपछि मात्रै सम्भव हुने देखिएको छ । जुन एक वर्षभन्दा बढि समय लाग्नेछ ।

एक अर्ब ४० करोड चुक्ता पुँजि भएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जतिसक्दो छिटो दुइ अर्ब चुक्ता पुँजि पुर्याउने दवावमा छ । उसले अघि बढाएको ६० करोड रुपैयाँको आईपिओ जारी गर्ने प्रक्रिया कानुनी अड्चनमा अल्झिने भएपछि अझै केही समय चुक्ता पुँजि पुर्याउन समस्या पर्ने देखिएको छ ।

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले बीमाङ्कीको चर्को अभाव खेपिरहेका छन् । स्वदेशमा बीमाङ्की नहुँदा विदेशी बीमाङ्कीमा भर पर्नुपर्ने अवस्था छ भने सो बापत ठूलो रकम विदेश गइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*