१९ जीवन बीमा कम्पनीको लगानी साढे तीन खर्ब, अधिकांश लगानी मुद्दति निक्षेपमा

१० असार २०७८, बिहीबार १४:४३

काठमाडौं । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुल चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा ३ खर्ब ४२ अर्ब ८० करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।बीमा समितिले बीमा कम्पनीहरुको लगानीको दायरा विस्तार गर्ने लगानी निर्देशिका जारी गरिसकेको छ । लगानी निर्देशिका जारी गर्नुअघि बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा मात्र लगानी गर्दै आईरहेकोमा अब दायरा विस्तार हुँदै गएको छ ।

लगानी निर्देशिका जारी भएपछि बीमा कम्पनीहरुले बीमा समितिले निधारण गरेको दायराभित्रै रहेर बैंकको मुद्दति निक्षेप बाहक नेपाल सरकारको ऋणपत्र पत्र, घरजग्गा, सूचिकृत कम्पनीहरुको साधारण शेयर, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक शेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गर्दै आइरहेका छन्।

समितिले जारी गरेको निर्देशिकामा घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा कुल टेक्निकल रिजर्भको २० प्रतिशत, डिभेञ्चरमा २० प्रतिशत, कृषि, पर्यटन र जलस्रोत वा ऋणपत्रमा २० प्रतिशत, नागरिक लगानी कोष र म्यूचुअल फण्डमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ । साथै साधारण सेयरमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था निर्देशिकामा छ।

जसअनुसार जीवन बीमा कम्पनीले चालु आवको पहिलो ३ महिनामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दति निक्षेपलाई नै आफ्नो लगानीको प्रमुख क्षेत्र बनाएका छन् ।विवरण अनुसार जीवन बीमा कम्पनीहरुले कूल दुई खर्र्ब ६७ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपमा राखेका छन् । बीमितको सुरक्षाको लागि समेत बीमा कम्पनीहरुले तत्काल तरलता बनाउन मिल्ने क्षेत्रमा मात्रै लगानी गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ ।

जीवन बीमा कम्पनीहरुले दुई खर्ब ४५ अर्ब रुपैयाँ क बर्गका बैंकमा मुद्दति निक्षेपमा लगानी गरेका छन् । त्यस्तै, २८ अर्ब ३८ करोड रुपैयाँ विकास बैंकमा लगानी गरेका बीमा कम्पनीहरुले ग बर्गको फाइनान्स कम्पनीमा तीन अर्ब १९ करोड रुपैयाँ लगानी गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले सर्वसाधारणको बचत तथा जीवन जोखिमको दायित्व बहन गर्ने हुँदा सुरक्षित स्थानमा मात्रै लगानी गर्नुपर्ने व्यवस्थाको कारण सरकारी ऋणपत्र तथा क बर्गका बैंकहरुको मुद्दति निक्षेप जस्ता सुरक्षित क्षेत्रमा मात्रै लगानी गर्ने गरेको पाइएको छ । यसले गर्दा नेपाली जीवन बीमा क्षेत्रको लगानी सुरक्षित रहेको पाइएको छ ।

जोखिमयुक्त क्षेत्रमा लगानी गर्दा सर्वसाधारणको बचत तथा कुनै कारणवश ठूलो जोखिम आईपरेको खण्डमा तत्काल लगानी फिर्ता गर्न समस्या पर्ने हुँदा जीवन बीमा कम्पनीहरुले ठूला बैंकहरुमा मुद्दति निक्षेप राख्ने कार्य पहिलो रोजाईमा पर्ने गरेका छन् ।

तेस्रो त्रैमाससम्ममा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार बैंकको मुद्धती निक्षेप बाहेक जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिभेञ्चरमा २० अर्ब ५३ करोड रुपैयाँ लागनी गरेका छन् ।

त्यस्तै, क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा १७ अर्ब ३१ करोड ८९ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा १४ अर्ब २० करोड रुपैयाँ, अन्य लगानीमा ६ अर्ब ७३ करोड रुपैयाँ, कृषि तथा जलस्रोत लगायतको पूर्वधारमा ३ अर्ब ५९ करोड रुपैयाँ रहेको तथ्याङ्कले देखाएको छ ।
नेपाल सरकारको वचतपत्र तथा ऋणपत्रमा दुई अर्ब ४ करोड रुपैयाँ, म्युचुअल फन्ड र नागरिक लगानी कोषमा ७३ करोड ९७ लाख रुपैयाँ, घर जग्गामा गरिएको लगानीमा ३६ करोड २४ लाख रुपैयाँ र नेपाल पुर्वधार बैंकको मुद्दती निक्षेपमा २० करोड रुपैयाँ लगानी गरेको समितिको तथ्याङ्कले देखाएको छ ।

जीवन बीमा कम्पनीहरुको लगानीको रकम

तेस्रो त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफले सबैभन्दा धेरै लगानी गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ८७ अर्ब ९० करोड रुपैयाँ बैंकको मुद्धती निक्षेप र अन्य क्षेत्रमा लगानी गरेको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । कम्पनीले यस त्रैमाससम्ममा ६१ अर्ब ५४ करोड रुपैयाँ र तेस्रोमा नेशनल लाइफले ३७ अर्ब ३५ करोड रुपैयाँ बैंकको मुद्दती निक्षेप र अन्य क्षेत्रमा लगानी गरेका छन् ।

रकम रु (हजारमा)

समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ३० अर्ब ३६ करोड रुपैयाँ, एशियन लाइफले २३ अर्ब ७४ करोड रुपैयाँ, मेट लाइफले २२ अर्ब २८ करोड, प्राइम लाइफले १५ अर्ब २९ करोड रुपैयाँ, सूर्या लाइफले १० अर्ब७४ करोड रुपैयाँ, गुराँस लाइफले १० अर्ब ६१ करोड रुपैयाँ, यूनियन लाइफले ७ अर्ब ८२ करोड रुपैयाँर ज्योति लाइफले ५ अर्ब २० करोड रुपैयाँ बैंक तथा वित्तिय संस्थाको मुद्धती निक्षेप र अन्य क्षेत्रमा लगानी गरेका छन् ।

त्यस्तै, सिटिजन ५ अर्ब ११ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ९६ करोड रुपैयाँ, रिलायन्स लाइफले ४ अर्ब १ करोड रुपैयाँ, आइएमई लाइफले ३ अर्ब ८७ करोड रुपैयाँ, सन नेपाल लाइफले ३ अर्ब ४९ करोड रुपैयाँ, प्रभु लाइफले ३ अर्ब ९ करोड रुपैयाँ, सानिमा लाइफले ३ अर्ब ५ करोड रुपैयाँ र महालक्ष्मी लाइफले २ अर्ब २८ करोड रुपैयाँ लगानी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न बहानामा संस्थागत बचतकर्तालाई न्यून ब्याज दिएका कारण बीमा जीवन क्षेत्रले राष्ट्रिय ढुकुटीमा ठूलो बचत गरेपनि बीमितले त्यसको प्रतिफल पाउन सकेका छैनन् । साथै नेपालमा सुरक्षित लगानीका अन्य क्षेत्रहरु नभएका कारण समेत लगानी अनुसारको प्रतिफल बीमा कम्पनीहरुले प्राप्त गर्न नसक्दा बीमितले दुई डिजिटको बोनस दरमा चित्त बुझाउन बाध्य हुँदै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*